Syangja Dainik Media
स्याङ्जामा बालदिवसमा पञ्चेबाजा प्रतियोगिता: बालअधिकारसँगै संस्कृतिको संरक्षणमा जोड

यस वर्षपनि बालदिवस स्याङ्जामा विशेष बनाउने उद्देश्यले जिल्लाका बालबालिकाबीच पञ्चेबाजा प्रतियोगिता आयोजना हुने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा हुने सो प्रतियोगितामा जिल्लाभरिका बालबालिकाले सहभागिता जनाउनेछन् ।

सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलका अनुसार बालबालिकाको अधिकार, आवाज र अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने उद्देश्यका साथै संस्कृतिको संरक्षण र परम्परागत सीपको पुस्तान्तरणमा टेवा पुर्‍याउने सोचसहित कार्यक्रम ल्याइएको हो । "हाम्रो विवाह, उत्सव र चाडपर्वको अभिन्न अंग पञ्चेबाजाको संरक्षणका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छौं," पौडेलले भने ।

प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहबाट कम्तीमा दुई समूह सहभागी हुनेछन् । यही भदौ २२ गतेभित्र समूह दर्ता गर्न सकिने जनाइएको छ । कक्षा १ देखि १० सम्म अध्ययनरत बालबालिका सहभागी हुन सक्ने प्रतियोगितामा प्रत्येक समूहमा अधिकतम ८ जना रहनेछन् । समूह विद्यालय, टोल, बालक्लब, वडा वा पालिका स्तरमा गठन गर्न सकिने व्यवस्था गरिएको छ ।

बालअधिकारसम्बन्धी शब्दलाई गीतमा समेटी पञ्चेबाजाको धुनसँग प्रस्तुत गर्ने टोलीलाई मूल्यांकनमा प्राथमिकता दिइनेछ । विजेताले आकर्षक पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम हुने टोलीलाई १५ हजार, द्वितीयलाई १२ हजार, तृतीयलाई ९ हजार र सान्त्वना टोलीलाई ६ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ । साथै, दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सनाई उत्कृष्ट बजाउनेलाई छुट्टै सम्मान गर्ने तयारी गरिएको छ ।

जिल्ला बाल अधिकार समिति र जिल्ला बालसञ्जालको सहयोग तथा समन्वयमा आयोजना हुने प्रतियोगिता बालदिवसकै दिन, भदौ २९ गते, जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update