Syangja Dainik Media
नागरिकमुखी प्रशासनका लागि १३ बुँदे प्रतिवद्धता सार्वजनिक

स्याङ्जाका जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच प्रशासनलाई नागरिकमुखी, पारदर्शी र परिणाममुखी बनाउन १३ बुँदे प्रतिवद्धता कार्यसूची सार्वजनिक गरिएको छ ।

प्रतिवद्धताअनुसार वार्षिक नीति तथा कार्यक्रमलाई वैज्ञानिक ढंगले कार्यविभाजन गर्दै कार्यसम्पादन मूल्याङ्कन गर्ने, दैनिक प्रशासनिक कामलाई थप नागरिकमैत्री बनाउन सम्पर्क अधिकृत तोक्ने र नियमित समन्वयका लागि ह्वाट्सएप–भाइवर समूह निर्माण गरिनेछ ।

यस्तै, सार्वजनिक सेवामा आचारसंहिताको अक्षरशः पालना गर्ने, कर्मचारी क्षमता विकासका लागि तालिम तथा गोष्ठी सञ्चालन गर्ने, वित्तीय अनुशासन कायम राख्दै वेरुजु न्यूनिकरणलाई प्राथमिकता दिने व्यवस्था प्रतिवद्धतामा समावेश गरिएको छ ।

साथै, नागरिकको गुनासोलाई छिटो सम्बोधन गर्न गुनासो कक्षलाई प्रभावकारी बनाइने, जिल्ला सभाबाट पारित नीतिलाई उच्च प्राथमिकता दिइने र निर्वाचित जनप्रतिनिधिसँग सहकार्य गर्दै सदाचारयुक्त कार्यशैली विकास गरिने उल्लेख गरिएको छ ।

सार्वजनिक सूचनामा सहज पहुँच सुनिश्चित गर्न पालिकाका वेबसाईट  समयमै अद्यावधिक गर्ने र छरितो, मितव्ययी तथा डिजिटल सेवा प्रवाहलाई सुदृढीकरण गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।

जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरूले यस प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याएर जनताले नजिकबाट अनुभूत गर्ने प्रशासनिक सुधारको सुरुवात भएको दाबी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update