
स्याङ्जाको पुतलीबजार नगरपालिका –३ का स्थानीय भूमिनारायण (सुरेन्द्रमान) श्रेष्ठले आफ्नो जग्गा क्षति भएको गुनासो गर्दै न्याय नपाएको पीडा सार्वजनिक गरेका छन् ।
श्रेष्ठले विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधीन प्रगतिनगर–बहाकोट–काल्खु मोटरबाटो खन्ने क्रममा आफ्नो जग्गामा ठुलो क्षति भएको भन्दै आपत्ति जनाएका हुन् ।
श्रेष्ठले सोमबार पत्रकार सम्मेलनमार्फत आफू बसोबास गर्दै आएको चितिकुना क्षेत्रमा रहेको करिब २१ रोपनी पाखोबारीमध्ये करोडौं मूल्य बराबरको जग्गा क्षति भएको दाबी गरेका हुन् । उनले आफ्नो स्वामित्वको करिब ४ रोपनी जग्गा ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले बिना अनुमति र बिना मुआब्जा माटो–ढुङ्गा थुपारेर बिगारेको गुनासो गरेका छन् ।
“मेरो जग्गामा हजारौं घनमिटर माटो र ढुङ्गा फालिएको छ, ठुला गरा नै पुरिएको छ । पटकपटक मौखिक र लिखित आग्रह गर्दा पनि पुतलीबजार नगरपालिकाले वास्ता गरेको छैन,” श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
श्रेष्ठले क्षतिपूर्ति र जग्गा पुरानै अवस्थामा फिर्ता गराइदिन माग गर्दै समस्या समाधान नभएसम्म सडक निर्माण रोकेर यातायात सेवा समेत अवरुद्ध गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।
“मुआब्जा सुनिश्चित नभएसम्म सडक सञ्चालन रोक्नुपर्ने हुन्छ, अन्यथा अदालत धाउन बाध्य हुनेछु,” उनले बताएका छन् । माग पूरा नभए यसै महिनाको २७ गतेदेखि नगरपालिकामा अर्धनग्न आमरण अनशन बस्ने चेतावनी समेत उनले दिएका छन् ।
“जनताको सम्पत्ति मिचेर विकासको नाममा अनियमितता गरिन्छ भने त्यो विकास होइन, पीडाको थुप्रो हो,” श्रेष्ठको गुनासो छ ।
उनले यसअघि पनि सिद्धार्थ राजमार्ग निर्माणताका आफ्ना परिवारको नाममा अब्बल नम्बरको जग्गा अधिग्रहण भएको उल्लेख गर्दै, लोकतान्त्रिक देशमा कानुनको शासन नभएको जस्तो महसुस भएको बताएका छन् ।