Syangja Dainik Media
फरार कसूरदार पक्राउ: ७ वर्षअघि लागूऔषध मुद्दामा सजाय भोग्न बाँकी पौडेल पोखरामा समातिए

लागूऔषध मुद्दामा कास्की जिल्ला अदालतले सजाय तोकेर फरार रहेका एक कसूरदारलाई विशेष अपरेशन टोलीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले फेदिखोला गाउँपालिका –५ घर भएका ३० वर्षीय सन्दिप पौडेललाई मङ्गलबार पोखरा महानगरपालिका –१७ छोरेपाटन सिमलटुंडाबाट पक्राउ गरेको हो ।

२०७५ साल भदौ ५ गते कास्की जिल्ला अदालतले पौडेललाई १ वर्ष ८ महिना १२ दिन कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो । तर फैसला कार्यान्वयन अघि नै उनी फरार बनेका थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रसन्न राज चौधरीका अनुसार पक्राउ परेका पौडेललाई सजाय कार्यान्वयनका लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रहरीले अदालतबाट तोकिएका फैसलाको कार्यान्वयनलाई चुस्त र प्रभावकारी बनाउन विशेष अपरेशन अभियान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update