Syangja Dainik Media
स्याङ्जामा अपांगता क्षेत्रमा प्रभावकारीता बढाउन अन्तरक्रिया

गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय स्याङ्जाले अपांगता क्षेत्रसँग सम्बन्धित संघ–संस्था र सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा सम्पादन भएका गतिविधिहरुको समिक्षा तथा चालू आव २०८२/८३ का योजनाबारे छलफल गर्ने उद्देश्यले कार्यालयले कार्यक्रम आयोजना गरेको हो ।

कार्यालयका अनुसार यस वर्ष अपांगता भएका व्यक्तिहरुको सशक्तिकरण, सहयोग तथा सक्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू कार्यान्वयन गरिने छन् । तीमध्ये सहायता सामग्री तथा प्रविधि वितरण, कालाभैरव माध्यमिक विद्यालयका दृष्टिविहिन विद्यार्थीलाई सहायक प्रविधि सहयोग, अन्तर्राष्ट्रिय अपांगता दिवसको विशेष कार्यक्रम, अपांगता भएका व्यक्तिहरुलाई लघु उद्यम सञ्चालन, समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम, सुस्केरा फाउण्डेशनमार्फत सशक्तिकरण अभियान तथा बहिरा समुदायका लागि क्षमता विकास कार्यक्रम समावेश गरिएको छ ।

सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले अपांगता लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्ने मात्र नभई अन्य क्षेत्रमा पनि सबैको सहभागिता सुनिश्चित हुने गरी प्रभावकारी कार्यक्रम अघि बढाइने बताए ।

अन्तरक्रिया कार्यक्रममा अपांग सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुली, अपांग समाज स्याङ्जाका राम शर्मा पोखरेल, स्याङ्जा बहिरा संघका अध्यक्ष संजिब श्रेष्ठ, सि.बि.आर.एस स्याङ्जाका फिल्ड को–अर्डिनेटर हुम रानाभाट, फेदीखोला हातेमालो अपांगता समाजका अध्यक्ष रेशमलाल रानाभाट, दोभाषे शिक्षिका सावित्री शर्मा लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update