Syangja Dainik Media
स्याङ्जामा पुनः कर्फ्यू आदेश जारी

बिहीबार दिनभरि सामान्य स्थिति रहे पनि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पुनः कर्फ्यू आदेश जारी गरेको छ ।

आज साँझ सात बजेदेखि लागू हुने गरी भोलि बिहान छ बजेसम्म कर्फ्यू जारी गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । प्रजिअ अर्यालले कर्फ्यू अवधिभर जिल्लाभर कसैले पनि अनावश्यक आवातजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न नपाउने व्यवस्था मिलाइएको बताए ।

कर्फ्यू अवधिभर सामान्य जनतालाई सडकमा हिँड्न रोक लगाइए पनि अत्यावश्यक सेवामा संलग्न सवारी साधनलाई भने सुविधा दिइने उल्लेख गरिएको छ । आदेशअनुसार एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन, साथै हवाई टिकटका आधारमा यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्नेछन् ।

देशभर चर्किएको जेन-जेड समूहको आन्दोलनले स्याङ्जामा बुधबार दिउँसोदेखि आज बिहान छ बजेसम्मलाई पहिलोपटक प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update