Syangja Dainik Media
नेपालकै पहिलो नवग्रह मन्दिरमा भोलि ‘राहु महादशा’ विशेष पूजा

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा भोलि (भदौ २८ गते, शनिबार) नेपाल राष्ट्रको शान्ति, स्थिरता र दीर्घकालीन समृद्धिका लागि ‘राहु महादशा’ विशेष पूजा आयोजना हुने भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलका अनुसार प्रत्येक शनिबार विशेष पूजा हुने परम्परा रहेपनि यसपटक देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विशेष विधिबाट राहु महादशा पूजा गर्न लागिएको हो ।

“धार्मिक दृष्टिकोणले अहिले देश राहु महादशामा रहेको मानिन्छ । यसका कारण राजनीतिक अस्थिरता, आकस्मिक घटना, मानसिक तनाव, विदेशप्रति निर्भरता, रोग वा विवादजस्ता प्रभावहरू देखापर्न सक्छन्,” पोखरेलले बताए ।

उनका अनुसार यी नकारात्मक प्रभावलाई कम गर्दै सकारात्मक उर्जा प्रवाह गर्न वैदिक विधिबाट हुने यो विशेष पूजाको आयोजना गरिएको हो । सामूहिक सत्कर्मद्वारा राष्ट्रलाई शान्ति, स्थिरता र समृद्धितर्फ मोड्न सकिने विश्वास गरिएको छ ।

स्थानीयबासीले पनि यस पूजालाई राष्ट्रिय महत्वको आस्था र आशाको रूपमा लिएका छन् । मन्दिर व्यवस्थापन समितिले शनिबार बिहानैदेखि विशेष पूजापाठ, होम तथा आराधना कार्यक्रम हुने जनाएको छ ।

नेपाल राहु महादशामा: सत्ता परिवर्तनदेखि जनआन्दोलनसम्मको संकेत
नेपाल अहिले राहु महादशामा प्रवेश गरेको छ । सन् २०१४ तिर सुरु भएको राहु महादशा करिब १८ वर्षसम्म (सन् २०३२ तिर अन्त्य) रहनेछ । यस अवधिमा विभिन्न अन्तर्दशा आउने र त्यसले मुलुकको राजनीति, अर्थतन्त्र, समाज र अन्तर्राष्ट्रिय सम्बन्धमा गहिरो प्रभाव पार्ने ज्योतिषीय विश्लेषकहरू बताउँछन् ।

राहु-राहु अन्तर्दशा (२०२५२६) : सत्ता अस्थिरता विदेशी प्रभाव
यस अवधिलाई अत्यन्तै परिवर्तनकारी मानिएको छ । सत्ता परिवर्तन वा नयाँ नेतृत्व अकस्मात् उदाउने संकेत छ । विदेशी सहकार्य र प्रभाव असामान्य रूपमा बढ्ने सम्भावना छ भने गठबन्धन अस्थिर, आकस्मिक राजनीतिक संकट वा संसद् विघटनको अवस्था आउन सक्छ ।

विशेषज्ञहरूले राजनीतिक दल र नेताहरूबीच सहकार्य र धैर्यताको खाँचो रहेको जनाएका छन् । विदेशी शक्तिसँग सन्तुलित सम्बन्ध र पारदर्शी शासनमार्फत सार्वजनिक विश्वास कायम गर्नु सुझाइएको छ ।

राहु–बृहस्पति अन्तर्दशा (२०२७/२८२०२९) : अवसर विस्तारको काल
यो समय नेपालका लागि अवसरले भरिपूर्ण हुने अनुमान गरिएको छ । शिक्षा, कानुन, धर्म, दर्शन र न्याय प्रणालीमा सुधार हुने सम्भावना छ । भारत, चीन र पश्चिमी राष्ट्रहरूसँग सहकार्य बलियो हुने देखिन्छ । सरकार ठूला विकास योजनामा अघि बढ्ने तर अत्यधिक महत्वाकांक्षा वा भ्रष्टाचारले नकारात्मक असर ल्याउन सक्ने चेतावनी छ ।

सुझावका रूपमा पारदर्शिता, नैतिकता र धार्मिक–सांस्कृतिक मूल्यमा आधारित सुधारलाई महत्व दिनुपर्ने बताइएको छ ।

राहुशनि अन्तर्दशा (२०२९२०३०/३१) : आन्दोलन संघर्षको संकेत
यो चरणलाई कठिनाइ र परीक्षा दिने कालका रूपमा लिइन्छ । शासन प्रणाली, प्रशासन र कानुनी संरचनामा अवरोध आउन सक्छ । श्रमिक, युवा र विद्यार्थीहरूबाट आन्दोलन चर्कन सक्ने सम्भावना छ भने पुराना परम्परा र नयाँ सुधारबीच टकराव बढ्ने अनुमान छ ।

विशेषज्ञहरूले जनताका माग सम्बोधन नगरे ठूलो आन्दोलन हुने र संविधान/कानुन पुनरावलोकनसम्म पुग्न सक्ने देखाएका छन् ।

राहु महादशा पूजा के हो ?
राहु महादशा वा अन्तर्दशामा पर्ने बेला व्यक्ति वा राष्ट्रले आकस्मिक घटना, राजनीतिक अस्थिरता, मानसिक तनाव, रोग वा विवाद भोग्ने विश्वास गरिन्छ । यी नकारात्मक प्रभावलाई कम गरी सकारात्मक ऊर्जा बढाउन गरिने वैदिक विधिलाई राहु महादशा पूजा भनिन्छ । सामूहिक प्रार्थना, सत्कर्म र उचित विधिद्वारा शान्ति, स्थिरता र समृद्धि ल्याउन सकिन्छ भन्ने धारणा रहँदै आएको छ ।

आगामी केही वर्ष नेपालका लागि उतार–चढाव, अवसर र चुनौतीले भरिएका रहनेछन् । राहु महादशाको प्रभावलाई अवसरका रूपमा रूपान्तरण गर्न सन्तुलित नीति, पारदर्शी शासन र सामाजिक सहकार्य अपरिहार्य देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update