
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोकेका हुन् ।
शुक्रबार शीतल निवासमा शपथ लिएलगत्तै प्रधानमन्त्री बनेकी कार्कीले पहिलो निर्णयमै प्रतिनिधिसभा विघटनको प्रस्ताव पेश गरेकी थिइन् । कार्कीले पेश गरेको सिफारिस राष्ट्रपति पौडेलले तत्काल सदर गर्दै संसद् विघटन गर्ने संवैधानिक कदम चालेका हुन् ।
राष्ट्रपतिको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने घोषणा गरेको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसअनुसार नै उक्त मिति तोकेको शीतल निवासको विज्ञप्तिमा उल्लेख छ ।
अन्तरिम प्रधानमन्त्रीका रूपमा कार्कीले लिएर आएको पहिलो निर्णय प्रतिनिधिसभा विघटन रहेको छ । राजनीतिक वृत्तमा यो कदमलाई साहसिक र निर्णायक मानिएको छ । कार्कीको नेतृत्वमा अन्तरिम सरकारले अब निर्वाचनसम्म देशलाई अगाडि लैजाने बताइएको छ ।