
काठमाडौं । जेन-जेड आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलीस्वरूप सरकारले आज असोज १ गते (बुधबार) शोक दिवस मनाउने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदासहित देशव्यापी शोक मनाउने निर्णय गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकमा भएका निर्णय सार्वजनिक गर्दै आन्दोलनमा मारिएका युवालाई सहिद घोषणा गर्ने तथा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सहिद घोषित युवाका परिवारलाई राहतस्वरूप अब १५ लाख रुपैयाँ उपलब्ध गराइनेछ । यसअघि घोषणा गरिएको १० लाखमा थप पाँच लाख थपिएको हो ।
मन्त्रिपरिषद् बैठकले आन्दोलनमा भएका घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने, स्मरण स्वरूप ‘जेन-जेड स्मारक पार्क’ निर्माण गर्ने र आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच, प्रहरी प्रधान कार्यालयले पनि आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरी परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार उक्त रकम प्रहरी निरीक्षकदेखि आइजिपीसम्मको एक दिनको तलब कट्टा गरेर उपलब्ध गराइनेछ ।
सरकारको यस निर्णयलाई जनस्तरमा विभिन्न प्रतिक्रिया आउने अपेक्षा गरिएको छ । आन्दोलनमा ज्यान गुमाएकाको सम्मान र परिवारलाई राहत दिने कदमलाई सकारात्मक मानिँदैछ, तर घटनाका कारण र जिम्मेवारीबारे गहिरो छानबिनको माग अझै तीव्र छ ।