
संविधान दिवसको अवसरमा स्याङ्जा जिल्लाका प्रमुख चार राजनीतिक दलहरूले संयुक्त रूपमा आयोजना गरेको र्याली र सभामा संविधानको रक्षा र सुधारको मुद्दा मुखरित भएको छ ।
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा संविधानमाथि भइरहेको चुनौतीबारे तीव्र प्रतिक्रिया व्यक्त गरिएको थियो ।
विघटित प्रतिनिधि सभाका सांसद एवं नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाले संविधानलाई समावेशी दस्तावेज भन्दै सहमतिको आधारमा मात्रै संशोधन सम्भव हुने बताए । उनले जेन–जेड आन्दोलनका जायज मागलाई सबै दलले समर्थन गर्ने उल्लेख गर्दै “विदेशी शक्तिको हस्तक्षेपका बीचमा संविधान रक्षाका लागि दलहरू एकताबद्ध हुनुपर्छ” भने ।
यस्तै, गाउँपालिकाबाट सभामा सम्बोधन गर्दै आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने धारणा राखे । नगरपालिकाबाट पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले संविधान जारी गर्ने सबै दल आज पनि यसको रक्षा र कार्यान्वयनमा समान रूपमा प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेकपा समाजवादीका अध्यक्ष शंकरध्वज कार्कीले २००७ सालदेखि आजसम्म पनि समानता र आर्थिक समृद्धिको लक्ष्य अधुरो रहेको भन्दै राजनीतिक स्थिरताको खाँचो औंल्याए । नेकपा माओवादीका शैलेन्द्र घिमिरेले रोजगारी र सुशासनको समस्या सम्बोधन गर्न सकेमा मात्रै संविधान सुरक्षित हुने धारणा राखे ।
नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारश) ले विदेशी शक्तिले अस्थिरता मोलाइरहेको आरोप लगाउँदै संविधान र जनताका मागलाई सम्बोधन गर्न सबै दलको साझा संकल्प आवश्यक रहेको बताए ।
त्यस्तै, कांग्रेस नेतृ कल्पना तिवारीले संविधान कार्यान्वयनकै बेला युवा आन्दोलनमा बाह्य हस्तक्षेप देखिएको भन्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । एमालेकी नेतृ सीता सुन्दासले २०७२ को संविधान लोकतान्त्रिक आन्दोलनको उपज भएकाले यसको रक्षा नै राष्ट्रिय जिम्मेवारी रहेको बताइन् ।
सभामा सहभागी सबै दलका नेताहरूले जेन–जेड आन्दोलनले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनका मागलाई उचित ठहर गर्दै संविधानभित्रै समाधान खोज्नुपर्नेमा एकमत जनाए ।