Syangja Dainik Media
खाडीको कमाइ बल छउन्जेल, झाडीको कमाइ जीवन रहुन्जेल
तस्बिर: स्याङ्जा चापाकोट नगरपालिका -८ दामाचौरका किसान विपिन डोटेल

स्याङ्जाका एक किसानले यसै खाली रहेर जङ्गल बनेको पाखो जग्गा उपयोगमा ल्याएर दिगो आम्दानीको स्रोत बनाउन लागिपरेका छन् । चापाकोट नगरपालिका -८ दामाचौरका विपिन डोटेलले पाखो जग्गा उपयोगमा ल्याएर दिगो आम्दानीको स्रोत बनाउन लागिपरेका हुन् ।

धेरै युवाहरु भविष्य निर्माणका लागि वैदेशिक रोजगारीमा आकर्षित भैरहेका बेला डोटेलले भने “खाडीको कमाइ बल छउन्जेल, झाडीको कमाइ जीवन रहुन्जेल” भन्ने सन्देशसहित पाखो जग्गामा कृषि कर्म गरी दिगो आम्दानीको आधार बनाउन तल्लिन छन् । यस्तो जङ्गल बनेको पाखोमा के होला र भन्नेहरुका लागि डोटेलले बहुवर्षीय फलफूल लगाएर चुनौति दिएका छन् ।

डोटेलले ५ नम्बर वडामा रहेको आफ्नै गाउँ बिसटारीमा “परिवर्तन कृषि तथा बाख्रा फार्म” सञ्चालन गरेका छन् । स्थानीय दामाचौरको ग्रामिण बजारमा व्यापार व्यवसाय गर्दै आएका उनी विगत पाँच वर्षदेखि कृषि पेशा अँगालिरहेका छन् । वषौंदेखि खाली रहेर झाडी बनेको पाखो जग्गा अहिले बहुवर्षीय फलफूल लगाएर हराभरा भएको छ भने करोडौं आम्दानीको स्रोत बन्दै छ ।

दिगो आम्दानीको स्रोतकारुपमा विकास गर्ने उद्देश्यले कृषि उद्यममा लागेको डाटेलको भनाइ छ । डोटलेले एभोकाडो, आँप, लिची, अगरउड, सुन्तला, कागती र अमिलो (निबुवा) लगायत फलफूल लगाएका छन् । बगैंचामा एभोकाडो चार सयको हाराहारीमा छ भने आँप चार सय, लिची दुई सय र अगरउडका तीन सय बिरुवा छन् । सबै गरेर फलफूलका १३ सय भन्दा धेरै बिरुवा डोटलेलको बगैंचामा हुर्किरहेका छन् ।

avogado-fal-damachaur-1758339108.jpg

चार वर्ष अगाडि लगाएको एभोकाडोले गतवर्षदेखि फल दिन थालेको छ । अहिले एउटै बोटमा ६० किलोसम्म फलेको डोटेल बताउँछन् । उनी भन्छन्, “बिक्री गर्न समस्या छैन । प्रति किलो थोक मूल्य तीन सय ५० रुपैयाँमा बिक्री भैरहेको छ । पोखरा, बाग्लुङ, भैरहवा, बुटवलसम्म पठाउने गरेको छु, नारायणघाटदेखि पनि माग आइरहेको छ । अहिले डेढ सय बोटले फल दिन थालेका छन् । तीन क्वीण्टल बिक्री भैसकेको छ, अरु तीन क्वीण्टल जति विक्रि हुने अनुमान छ ।”

गज्जवको कुरा के छ भने एभोकाडोबाट भदौ लागेदेखि मंसिरसम्म फल लिइरहन पाइन्छ र सय वर्षभन्दा धेरै समयसम्म फल दिइरहन्छ । ठूलो भैसकेपछि एउटै बोटबाट ८० हजारसम्मको उत्पादन भएको आफूले धनकुटामा देखेको डोटेल बताउँछन् ।

एक पटकको लगानी वषौंसम्म आम्दानी लिन सकिन्छ । खासगरी पूर्व र दक्षिण फर्केको पहारिलो जग्गा एभोकाडोका लागि राम्रो हुन्छ । १० वर्षको एउटै बोटबाट पाँच क्वीण्टलसम्म उत्पादन दिन सक्छ । यो बहुउपयोगी फल अन्तर्गत पर्दछ । यसको दाना बीउको लागि प्रयोग हुन्छ भने यसबाट तेल पनि निकाल्न सकिन्छ र यसको तेल प्रति लिटर ३५ हजारमा बिक्री हुन्छ । यसको तेल निकाल्ने प्रविधी इण्डियामा छ, हामीले इन्डियालाई बिक्री गर्न सक्छौं र नेपालमा पनि सुरु हुन्छ भन्ने सुन्नमा आएको छ । अब कलमी गरेर बिरुवा उत्पादन गर्ने डोटेलको योजना छ । प्रति बिरुवा तीन सय रुपैयाँमा बिक्री हुन्छ । यो वर्ष १५ हजार बिरुवा उत्पादन गर्ने उनको लक्ष्य छ ।

एभोकाडोकोसाथमा रहेका आँप, लिची, अगरउड, सुन्तला, कागती र अमिलो (निबुवा) बाट आगामी वर्षदेखि उत्पादन सुरु हुने डोटेलको भनाइ छ ।

यसैगरी, उनको फार्ममा साना ठूला गरेर सवा सयको हाराहारीमा बोयर जातका बाख्राहरु छन् । बाख्राबाट पनि आम्दानी सुरु भैसकेको छ । यहाँका बीउ बोका र पाठीहरु पूर्वको सुनसरीसम्म पुग्ने गरेका डोटेल बताउँछन् । पश्चिमी जिल्लाहरुबाट पनि माग आउने गरेको उनको भनाइ छ । डोटेलको फार्ममा ९० प्रतिशतसम्मका बोयर बाख्रा छन् । उत्पादन हुनुपर्छ बिक्रीको लागि समस्या छैन । ६ महिनाका बोका ४० किलोसम्म हुने भएकाले यसको वृद्धि पनि राम्रो रहेको डोटेल बताउँछन् ।

“समग्र नेपाललाई समृद्ध बनाउन कृषि कर्म गर्नुपर्छ भन्ने लाग्छ । एक्लैले करिब ८० रोपनी पाखोमा फार्म सञ्चालन गरेको छु । यसैगरी अरुले पनि गर्ने हो भने धेरै राम्रो हुन्छ”, डोटेलको धारणा छ ।

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाबाट आँप र लिचीको बिरुवा प्राप्त गरेका डोटेलले सिंचाइका लागि ढाई लाख रुपैयाँ अनुदानसमेत मिलेको र यसबाट पानी ट्याङ्की बनाएका छन् । यसरी नै काम गर्ने हो भने सम्बन्धित निकायबाट पनि हौसला स्वरुप सहयोग मिल्दैजाने उनको भनाइ छ ।

डोटेलले फार्म व्यवस्थापनका लागि स्थानीय उपकार बचत तथा ऋण सहकारीबाट सहुलियत ऋण लिएर सुरु गरेका हुन् । योसँगै अहिलेसम्म करिब एक करोड लगानी भैसकेको छ । “करोड लगानी गरेपनि दुःख छैन, खुसी नै छु”, उनले भने– मेहनत गरेअनुसार राम्रो भएर आएको छ । आम्दानीसमेत सुरु भैसक्यो अब धेरै राम्रो हुनेमा ढुक्क छु ।

हावापानी र माटो सुहाउँदो खेति गर्ने हो भने कृषिमा सम्भव छ भन्ने डोटलेको फार्ममा देख्न सकिन्छ ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update