Syangja Dainik Media
वालिङका एक समूह सीपमूलक तालिम लिएसँगै उत्पादनमा जोडिए
तस्बिर: हाम्रो साझा होमकेयरका उत्पादन

उद्यमशीलतासँगै स्वरोजगारी आजको आवश्यकता हो, चाहे त्यो कृषिमा होस्, चाहे उत्पादनसँग सम्बन्धित र प्रविधिका क्षेत्रमा नै किन नहोस् । समय यसै खेर फाल्ने होइन, कुनै न कुनै काममा जोडिएर समयलाई आम्दानीमा परिणत गर्नुपर्छ र मात्र हामी आत्मनिर्भर बन्न सक्छौं ।

यसका लागि आवश्यक तालिम तथा सीप सिकाइ जरुरी हुन्छ । यही मान्यताले स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीयस्तरमै स्वरोजगारी सिर्जनाका लागि विभिन्न तालिमहरुमा सहभागी गराएर नागरिकहरुलाई प्रेरित गर्दै आएको छ । यसै शिलशिलामा यहाँको ८ नम्बर वडाको एक समूहले सातदिने तालिमको सिकाइलाई उपयोग गरेर उत्पादनमा अगाडि बढेको छ ।

सरसफाइ हामी सबैका लागि अति आवश्यक कुरा हो ।  यही सरसफाइसँग सम्बन्धित उत्पादनमा लाग्न र स्वरोजगारी सिर्जना गर्ने हेतुले नगरपालिकाले विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको हो । सीपमूलक तालिमसँगै नागरिकहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्दै स्वरोजगारीमा जोड्ने कार्यमा नगरपालिका अगाडि बढेको हो ।

गत असार ६ देखि १२ गतेसम्म नगरपालिकाको ८ नम्बर वडाका २९ जनालाई सरसफाइसँग सम्बन्धित तालिम प्रदान गरिएको थियो । तालिममा घरदेखि कार्यालयसम्म प्रयोगमा आउने हर्पिक, डिसवास, हेण्डवास, शिशा क्लिनर, सेतो कालो फिनेललगायतका सामान बनाउने सिकाइ प्रदान गरिएको हो । अहिले त्यही तालिमको सिकाइ बमोजिमका सामान उत्पादन गर्ने काममा २९ जनाको समूह लागि परेको छ ।

तस्बिर: हाम्रो साझा होमकेयरका उत्पादन

समूहले “हाम्रो साझा होमकेयर” का नाममा सामान उत्पादन गरेर बजारीकरणमा अगाडि बढिसकेको छ । अधिकांश महिलाहरुको सहभागिता रहेको समूहमा सहभागी सबैजना विशेष रुचिकासाथ लागेका छन् ।

यहाँ उत्पादन भएका सामान स्थानीय बजारमा बिक्री वितरणको थालनी गरिसकिएको समूहका अध्यक्ष प्रेमनारायण बगालेले जानकारी गराए । उत्पादित सामानको गुणस्तर राम्रो र मूल्य पनि सस्तो भएकाले उपभोक्ताले सहजै प्रयोग गर्न थालेका उनको भनाइ छ । अध्यक्ष बगालेका अनुसार, बजारमा उपलव्ध सामान भन्दा “हाम्रो साझा होमकेयर” को उत्पादन गुणस्तरीय रहेकाले उपभोक्ताहरुले पुनः माग गर्न थालेका छन् ।

नगरपालिकाको साझेदारीमा “हाम्रो साझा होमकेयर” सञ्चालनमा ल्याइएको हो । जम्मा ३ लाख ५० हजार रुपैयाँको लगानीमा सुरु गरिएको उत्पादनले समूहका सबैजनालाई स्वरोजगारी प्रदान गरेको छ । न्यूनतम लगानीबाट पनि यति धेरै जना स्वरोजगारीमा जोडिनु उदाहरणीय कार्य बनेको छ । यही भदौ १ गतेदेखि घर भाडामा लिएर समूहका सदस्यहरु बजारीकरणमा अगाडि बढेका हुन् । उनीहरु दैनिकजसो नै विभिन्न कार्यालय तथा पसलहरुमा आफ्‌ना उत्पादनहरु लिएर जाने गरेका छन् । अहिले कच्चा पदार्थ घुलाउने सानो खालको मिक्स्चरले काम चलाइएको छ भने अब अलि ठूलो मिक्स्चरको व्यवस्था हुनसके उत्पादनमा वृद्धि ल्याउन सकिने समूहले जनाएको छ ।

यसैबीच, तालिम लिएपछि उत्पादनमा लागेको समूहको प्रगति कस्तो छ भनी नगर उप-प्रमुख कविता तिवारी गैह्रेसहितको टीमले अनुगमन गरेको छ । सहभागीहरुको भावना बुझ्दै नगर उप प्रमुख गैह्रेले उनीहरुको रचनात्मक सक्रियताप्रति खुसी व्यक्त गर्दै नगरपालिका सधैं साथमा रहने विश्वास व्यक्त गरिन् । साथै, बजारीकरणका लागि पनि नगरपालिकाको सहयोग रहने उनको भनाइ छ । यसैगरी, थप व्यवस्थापनका लागि आवश्यक उपकरण नगरपालिकाले सहयोग गर्ने जानकारी गराउँदै उनले ढुक्कसँग अगाडि बढ्न आग्रह गरिन् ।

तालिमको सिकाइ प्रयोगमा ल्याएर स्वरोजगार बन्न मदत पुगेकोमा सहभागीहरुले खुसी व्यक्त गरेका छन् । काम गर्दै र उत्पादन भएका सामान बिक्री हुँदै जाँदा आफूहरुलाई उत्साही बनाएको उनीहरुको भनाइ छ ।

प्राप्त आम्दानीलाई लगानीमा परिणत गर्दै लैजाने र उत्पादनमा वृद्धि गर्दैजाने उनीहरुको योजना छ । “हाम्रो साझा होमकेयर” का उत्पादनको बिक्री वितरणमा समूहमा सहभागी भन्दा बाहिरकालाई पनि अवसर प्रदान गर्न सकिने समूहले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update