Syangja Dainik Media
पुतलीबजारको पुण्यशिला विद्यालयमा समिती गठन अझै अधुरो

गत भाद्र १२ गते विघटन भएको स्याङ्जाको पुतलीबजार नगरपालिका –३ स्थित पुण्यशिला आधारभूत विद्यालयको व्यवस्थापन समिती अझैसम्म गठन हुन सकेको छैन ।

सरोकारवालाको मौनता र ढिलासुस्तीका कारण नयाँ समिती चयन हुन नसकेको विद्यालयका चन्दादाता एवम् शुभेच्छुक मोती प्रसाद मरासिनीले बताए । उनका अनुसार, “सबैको स्वामित्व रहने” गरि समिती गठन गर्ने प्रक्रियाले समय खाइरहेको हो । तर, समिती विघटन भएको करिब एक महिना बितिसक्दा पनि निर्णयमा ढिलाइ हुनु सम्बन्धित केही व्यक्तिहरुको “मेरो गोरुको बार्है टक्का” प्रवृत्तिले गर्दा भएको उनको आरोप छ ।

समिती विघटन पछि बसेको एक बैठकमा भने शिक्षक–अभिभावक संघ गठन गर्ने सहमति भएको विद्यालय स्रोतले जनाएको छ । सो संघको संयोजकमा चन्द्र मरासिनीलाई प्रस्ताव गरिएको भए पनि अन्य सदस्य चयन गर्ने विषयमा अझै अन्योल छ ।

विद्यालय व्यवस्थापन समितीको नेतृत्व शून्य रहँदा शैक्षिक क्रियाकलापमा असर पर्न सक्ने चिन्ता स्थानीयमा बढ्दो छ ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update