
नेपालीहरूको महान चाडपर्व बडादशैं, शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले जिल्लाबासीप्रति शुभकामना दिँदै पर्वलाई सौहार्दपूर्ण ढंगले मनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा जारी सूचनामा चाडपर्वले सामाजिक र सांस्कृतिक पहिचानलाई मजबुत बनाउन भूमिका खेल्ने भएकाले परम्परागत मर्यादा र प्रचलित कानुनको पालना गर्दै मनाउन अनुरोध गरिएको छ ।
सूचनामा भनिएको छ, “भाईचारा र आत्मीयताको वातावरणमा अरुको धर्म, संस्कृति र परम्पराप्रति सम्मान राख्दै पर्व मनाउन सबैलाई आग्रह गर्दछौं ।”
प्रशासनले नाचगानजस्ता सांस्कृतिक कार्यक्रम राति १० बजेभित्र मर्यादित ढंगले मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ । दीपावलीमा बिजुली तथा मैनबत्ती सावधानीपूर्वक प्रयोग गर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला वा झगडा नगर्न, सवारी साधनमा छतमा बस्ने वा झुण्डिने कार्य नगर्न, यात्रुबाट बढी भाडा असूल भए प्रहरीमा खबर गर्न समेत अनुरोध गरेको छ ।
यस्तै, घर बाहिर जाँदा पर्याप्त सुरक्षा व्यवस्था मिलाउने र बहुमुल्य गरगहना प्रयोग गर्दा सचेत रहन आग्रह गरेको छ । प्रशासनले बजारमा कृत्रिम अभाव, कालोबजारी वा म्याद गुज्रिएका सामान बिक्री नगर्न अनुरोध गर्दै सूचनाको अवज्ञा भए कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ ।