Syangja Dainik Media
कारागारबाट फरार भएका दुई कैदी स्याङ्जामा पक्राउ

जेन-जेड आन्दोलनको क्रममा गत भदौ २४ गते कारागारबाट फरार भएका दुई कैदीलाई स्याङ्जा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी पौवेगौंडे टक्सारबाट खटिएको टोलीले बुधबार पक्राउ गरी स्याङ्जा कारागारमा पठाएको हो ।

पक्राउ परेकामध्ये पुतलीबजार नगरपालिका –९ कोल्माका २६ वर्षीय जबरजस्ती करणी मुद्दाका कैदी अभिषेक नेपाली कास्की कारागार, पोखराबाट फरार भएका थिए । उनी पुतलीबजार नगरपालिका –१ कालाखोलाबाट पक्राउ परेका हुन् ।

त्यस्तै, पुतलीबजार नगरपालिका –५ पौवेगौंडे गौरीखोलाकी ६७ वर्षीया कर्तव्य ज्यान मुद्दाकी कैदी नुनुमाया कार्की केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएकी थिइन् । उनलाई आफ्नै वडाभित्रै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न स्याङ्जा जिल्ला कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update