Syangja Dainik Media
अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान

नागरिकको पीडामा हातेमालो गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका -१३ सातुपसलका १८ वर्षीय शुभम अर्याललाई प्रशासनले घरमै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

अर्याल पाँच वर्षको उमेरसम्म बेहोस भइरहने रोगबाट ग्रसित थिए । पाँच वर्षको उमेरपछि उपचारका क्रममा मानसिक रोगीको उपचारको साइड इफेक्टबाट उनी हाल अल्जाइमर रोगबाट ग्रसित छन् । तर, नागरिकता प्रमाणपत्र नहुँदा उपचार प्रक्रियालगायत आवश्यक सेवा सुविधा लिन उनलाई कठिनाइ भएको थियो ।

यही अवस्था देखेर जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत सूर्य प्रसाद शर्मासहितको टोलि उनको घरमै पुगे । हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका अर्याललाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयले प्रत्यक्ष सेवा पुर्‍याएको हो ।

“शारीरिक अशक्तता र बिरामी अवस्थाका कारण नागरिकताको प्रमाणपत्र लिन आउन नसक्ने भएकाले हामी घरमै पुग्यौं,” प्रशासकीय अधिकृत शर्माले बताए । “नागरिकको दु:खमा साथ दिने हाम्रो दायित्व हो,” अधिकृत शर्माले भने, “तत्काल नागरिकता चाहिने अवस्थामा सेवा पाउन सजिलो होस् भनेर घरमै पुगेर प्रमाणपत्र दिएका हौं ।”

अचानक प्राप्त सुविधाले अर्यालका बाबु सूर्य प्रसाद अर्यालले प्रशासनलाई धन्यवाद व्यक्त गर्दै भने, “घरमै नागरिकता पाएपछि धेरै राहत भएको छ, यो मेरो लागि ठूलो खुसीको कुरा हो ।”

यस कदमलाई स्थानीयले प्रशासनको संवेदनशील र जनमुखी कदमको रूपमा लिएका छन्  । उनीहरूले अशक्त, बिरामी र विपन्न नागरिकका लागि यस्तै मानवीय सेवा निरन्तर हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update