Syangja Dainik Media
आन्दोलन नियन्त्रणमा उत्कृष्ट भूमिका, प्रहरी जवान गिरी 'महिनाको उत्कृष्ट प्रहरी' घोषित

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्राविधिक प्रहरी जवान सुजाता गिरी भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएकी छन् ।

गृह मन्त्रालयको सांगठनिक नीति निर्देशनअनुसार कर्तव्यप्रति इमान्दारिता, वफादारी र व्यावसायिक सुझबुझका आधारमा गिरीलाई छनोट गरिएको हो ।

गत भदौ २३ र २४ गते जेन-जेड आन्दोलनका क्रममा स्याङ्जा पुतलीबजार नगरपालिका –१ मा आन्दोलनकारीले विभिन्न कार्यालयमा तोडफोड र आगजनी गर्ने प्रयास गरेको बेला प्रहरी जवान गिरीले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । आन्दोलनकारीलाई सम्झाइ–बुझाइ तितर–बितर गराउँदै, तोडफोड रोक्न र ल्याइएका टायर खोसी आगजनी हुन नदिएर उनले ठूलो मानविय तथा भौतिक क्षति न्यूनीकरण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको सो साहसिक कार्यलाई मूल्याङ्कन गर्दै ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१’ बमोजिम २०८२ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले गिरीलाई बधाई दिँदै कर्तव्यनिष्ठ प्रहरी कर्मचारीका रूपमा यो उपलब्धि सम्पूर्ण संस्थाको गौरव भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update