
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशभर विशेषगरी गण्डकी प्रदेश लगायतका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।
यस अवधिमा जिल्लाभित्रका विभिन्न नदी तथा खोलामा पानीको सतह सतर्कता तह पार गर्ने अवस्थामा पुग्ने, भिरालो जमिनमा धाजा फाट्ने तथा पहिरो जाने जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई अत्यन्तै सतर्क रहन आग्रह गरिएको छ । विशेषगरी जोखिमयुक्त स्थानका बासिन्दाले रातको समयमा विशेष सावधानी अपनाई वैकल्पिक रुपमा बसोबासको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
भारी वर्षासँगै सडक मार्गमा अवरोध र क्षति पुग्न सक्ने भएकाले अत्यावश्यकबाहेक अन्य समयमा घर बाहिर यात्रा नगर्न, रातिको समयमा यात्रा विशेषगरी नगर्न र यातायातका साधन प्रयोग गर्दा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । साथै प्रहरीले दिने निर्देशनलाई पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरिएको छ ।
सो सम्बन्धमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै सम्भावित विपदका असरलाई न्यून पार्न स्थानीय तह, सरोकारवाला निकाय र नागरिक सबैलाई जिम्मेवारीपूर्वक सहयोग र सतर्कता अपनाउन अपिल गरेका छन् ।