
गण्डकी प्रदेशसहित देशका विभिन्न स्थानमा असोज १८ देखि २० गतेसम्म भारी वर्षा र सम्भावित विपद्को चेतावनी जारी भएको छ । यसै सन्दर्भमा स्याङ्जा जिल्ला प्रशासन कार्यालयले लामो दूरीका सवारी साधन सञ्चालन नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार मध्यमदेखि अति भारी वर्षा हुने संभावना रहेकाले बाढी, पहिरो, डुबान लगायतका जोखिम उच्च हुने देखिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत असोज १८, १९ र २० गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन रोक्ने निर्णय सार्वजनिक गरिसकेको छ ।
यसै आधारमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्याङ्जा जिल्लाभित्रका सिद्धार्थ राजमार्ग खण्डलगायत सहायक मार्गमा सञ्चालन हुने सार्वजनिक यातायात, मालवाहक सवारी तथा अन्य लामो दूरीका साधन तीन दिनका लागि रोक्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।
“सर्वसाधारणको ज्यानमाथि जोखिम नहोस् भन्ने हेतुले लामो दूरीका सवारी साधन रोक्नुपर्ने भएको हो,” प्रजिअ अर्यालले भने, “अत्यावश्यक अवस्थामा मात्रै सवारी सञ्चालन गर्दा नजिकैको सुरक्षा निकायसँग समन्वय गरी मात्र चलाउन सकिनेछ ।”
स्थानीय प्रशासनले जोखिमयुक्त स्थानका बासिन्दालाई तत्काल सुरक्षित स्थलमा सारिन, अनावश्यक यात्रा नगर्न र सावधानी अपनाउन समेत आग्रह गरेको छ ।
प्रशासनले यात्रुवर्ग र सर्वसाधारणमा यसले पारेको असुविधाप्रति क्षमाप्रार्थी रहेको पनि जनाएको छ ।