Syangja Dainik Media
अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा स्याङ्जा प्रहरीको कडाइ

स्याङ्जामा नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार नियन्त्रण गर्न प्रहरीले पछिल्ला दिनमा कडाइ थालेको छ । यही क्रममा भीरकोट नगरपालिका –४ छाङ्छाङ्दीस्थित आँधीखोला किनारमा प्रहरीले नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले आज बिहान करिब ४ बजे ग १ त ६६०५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । सो ट्याक्टर भीरकोट –४ का तेज नारायण श्रेष्ठको रहेको खुल्न आएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । उक्त ट्याक्टरबाट बालुवा ओसारपसार भईरहेको अवस्थामा पक्राउ परेपछि प्रहरीले पटके कायम गर्दै आवश्यक कानूनी प्रक्रिया अघि बढाएको छ ।

यसअघि, गत भदौ १० गते पनि दहथुम प्रहरी चौकीले ग १ त ४९४१ नम्बरको ट्याक्टर वालिङ नगरपालिका –१ ओडारेस्थित आँधीखोला किनारबाट नियन्त्रणमा लिएको थियो । सो क्रममा पनि अवैध नदीजन्य पदार्थ ढुवानीमा संलग्न रहेको भन्दै ट्याक्टरधनी तेज नारायण श्रेष्ठलाई ८ हजार रुपैयाँ जरिवाना तिराई छाडिएको थियो ।

त्यसैगरी, सोही दिन दिउँसो जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, भीरकोट नगर प्रमुख, पत्रकार र स्थानीयहरूको टोलीले संयुक्त रूपमा अनुगमन गर्दा पनि ठूलो मात्रामा बालुवा संकलन गरिएको फेला परेको थियो ।

अनुगमन टोलीले भीरकोट –४ छाङ्छाङ्दी बगरमा ५६७.५ घनमिटर र वालिङ –११ मा १४०९.८५ घनमिटर बालुवा फेला पारेको हो । सो बालुवा तेज नारायण श्रेष्ठकै स्वामित्वमा रहेको प्रमाणित भएपछि, उनलाई ९० हजार ६६६ राजस्व र ९ हजार ६६ रुपैयाँ जरिवाना तिराई छाडिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।

प्रहरीका अनुसार नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानीमा संलग्न जो कोहीमाथि पनि अब कडा कारबाही गरिने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update