Syangja Dainik Media
स्याङ्जामा ‘फोटोग्राफर मञ्च’को दोस्रो अधिवेशन सम्पन्न, हिमाल न्यौपाने सर्वसम्मत अध्यक्ष

जिल्लाभरका फोटोग्राफरहरूको साझा छाता संस्था ‘फोटोग्राफर मञ्च स्याङजा’को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा उत्साहपूर्वक सम्पन्न भएको छ । अधिवेशनले हिमाल न्यौपानेलाई सर्वसम्मत रूपमा मञ्चको नयाँ अध्यक्षमा चयन गरेको छ ।

नवगठित १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा बाबुराम रेग्मी, उपाध्यक्षमा शिव भण्डारी, सचिवमा प्रदीप पाठक र कोषाध्यक्षमा विकास खाँण निर्वाचित भएका छन् । अन्य सदस्यहरूमा जिल्लाका विभिन्न स्थानीय तहका फोटोग्राफरहरू समावेश छन् ।

अधिवेशनमा जिल्लाभरका फोटो व्यवसायीहरूको उल्लेखनीय सहभागिता रह्यो । नव-निर्वाचित अध्यक्ष हिमाल न्यौपानेले जिल्लाभर छरिएका फोटोग्राफरहरूलाई संगठित गर्दै पेशागत हकहित र सीप अभिवृद्धिका लागि संस्था सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

“व्यावसायिक फोटोग्राफीलाई सम्मान र पहिचान दिलाउने हाम्रो लक्ष्य हो,” अध्यक्ष न्यौपानेले भने, “स्याङ्जा जिल्लाभरका फोटोग्राफरहरूलाई एकीकृत गर्दै सशक्त संस्था निर्माण हाम्रो पहिलो प्राथमिकता हुनेछ ।”

अधिवेशनले स्थानीय स्तरमा फोटोग्राफरहरूको व्यावसायिक एकता, सीप विकास र सशक्तिकरणमा नयाँ गति दिने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् । स्याङ्जाको फोटोग्राफी क्षेत्रमा यो अधिवेशनलाई एक महत्वपूर्ण कोसेढुङ्गा मानिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update