Syangja Dainik Media
शिशु निकेतनमा ‘हाम्रो पहिरन, हाम्रो गर्व’ — संस्कृतिको रङमा रंगिए विद्यार्थी

"भेषभुषा हाम्रा चिनारी" भन्ने नारासहित शिशु निकेतन माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूलाई परम्परागत पहिरनको सम्मान र संरक्षणतर्फ प्रेरित गर्ने उद्देश्यले विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका -३ स्थित यस विद्यालयले नेपाली भेषभूषाको विविधता र सांस्कृतिक गौरवलाई उजागर गर्दै ‘देउसी–भैलो तथा भेषभूषा प्रदर्शन’ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थीहरू आफ्ना समुदायको परम्परागत पोशाकमा सजिएका थिए ।

कार्यक्रमका क्रममा विद्यालयका प्रिन्सिपल मनोज मल्लले भेषभूषा केवल कपडा नभई संस्कार, पहिचान र परम्पराको प्रतीक भएको उल्लेख गर्दै नयाँ पुस्तामा आफ्नै संस्कृतिप्रतिको अभिमान जागृत गराउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको बताए ।

"भेषभुषा हाम्रो गौरव हो, यसले हाम्रा मूल संस्कार झल्काउँछ," मल्लले भने, "विद्यार्थीहरूले आधुनिक पहिरनको बीचमा पनि आफ्ना जातीय र सांस्कृतिक पोशाकलाई आत्मगौरवका रूपमा ग्रहण गर्नुपर्छ ।"

कार्यक्रममा विभिन्न समुदायका विद्यार्थीहरू राष्ट्रिय भेषभुषा दौरा-सुरुवाल, ढाका टोपी,  गुन्यु-चोलो, फेतो, गुरुङ–मगरको गुन्युचोली, बक्खु, नेवार समुदायको हाकुपाटी, हाकुचोला पहिरनमा झल्किएका थिए । विद्यालय परिसर साँस्कृतिक रंगले भरिएको थियो ।

शिशु निकेतनले नियमित रूपमा विद्यार्थीहरूमा सिर्जनशीलता, संस्कार र सन्देशमूलक गतिविधिहरूलाई प्रोत्साहन गर्दै आएको छ । यस पटकको "भेषभुषा हाम्रा चिनारी" कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो संस्कृति र परम्पराप्रतिको प्रेम झनै प्रगाढ बनाएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update