रोयल बचत तथा ऋण सहकारी संस्था, पुतलीबजारले नेपाल पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मान गरेको छ ।
कार्तिक १४ गते शुक्रबार सम्पन्न २४औं साधारण सभाको अवसरमा सहकारीले सिग्देललाई नगदसहित सम्मान गरेको हो । सहकारी अभियानमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै सिग्देललाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
सिग्देल विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । पब्लिक आवाज साप्ताहिक, सगरमाथा टेलिभिजन, राजधानी दैनिक, लुम्बिनी दैनिक र पोखरापत्र दैनिकलगायतका सञ्चारमाध्यममा उनले काम गर्दै आएका छन् ।
गण्डकी प्रदेश पत्रकार महासंघका सदस्यसमेत रहेका सिग्देलले कृषि, सहकारी, खोजमूलक तथा भष्ट्राचारविरुद्धका विषयमा निरन्तर कलम चलाउँदै आएका छन् ।
रोयल सहकारीले प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मान गर्ने परम्परा अघि बढाउँदै आएको छ । यसअघि पत्रकार प्रदीप कोइराला र भवानी अधिकारीलाई पनि सहकारीले सम्मान गरिसकेको छ ।





