Syangja Dainik Media
प्रहरी निरीक्षक तिवारी उत्कृष्ट प्रहरी घोषित, अपराध नियन्त्रणमा उल्लेखनीय भूमिका

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अपराध अनुसन्धान शाखामा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी निरीक्षक प्रवेश तिवारी असोज महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरी निरीक्षक तिवारीले  फैसला कार्यान्वयनदेखि विविध अपराध अनुसन्धानमा उच्च व्यावसायिकता र प्रतिबद्धता प्रदर्शन गर्दै आएका थिए ।

२०८२ असोज महिनामा तिवारीले नियन्त्रित लागूऔषधसहित २ जना व्यक्तिलाई पक्राउ, सुन चोरीमा संलग्न १ जना महिलालाई नियन्त्रण, फरार रहेका १३ जना दोषीलाई पक्राउ गरी १ वर्ष ७ महिना ४ दिन कैद र ११ लाख ७१ हजार २०७ रुपैयाँ जरिवाना असुल गर्न सफल भएका थिए ।

त्यस्तै, जेन-जेड आन्दोलन को क्रममा विभिन्न कारागारबाट फरार भएका ८ जना कैदीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको थियो । साथै, नदिजन्य पदार्थको अवैध उत्खनन र ओसार–पसारमा संलग्न १ वटा जेसिबी र २ वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यी सबै कामको सफल नेतृत्व र समर्पणका कारण उनलाई “उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०८१” बमोजिम असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै तिवारीलाई बधाई तथा आगामी जिम्मेवारीमा अझ सफलताको शुभकामना दिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update