स्याङ्जाको भीरकोट नगरपालिका –७ स्थित महेन्द्र ज्योती माध्यमिक विद्यालयका ९३ विद्यार्थीलाई खुमा अर्याल फाउन्डेसन स्याङ्जाले न्यानो पोशाक वितरण गरेको छ । फाउन्डेसनको आयोजना र भीरकोट नगरपालिकाको समन्वयमा बुधबार विद्यार्थीहरुलाई ट्र्याक–सुट वितरण गरिएको हो ।
गरिब तथा विपन्न पृष्ठभूमिका विद्यार्थीका लागि विद्यालयको अनुरोधपछि न्यानो पोशाक उपलब्ध गराइएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए । उनका अनुसार यो फाउन्डेसनले मासिक रूपमा सञ्चालन गर्दै आएको नियमित सामाजिक कार्यक्रमअन्तर्गत परेको हो ।
कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा फाउन्डेसनले गरिरहेको योगदान प्रसंसनीय रहेको उल्लेख गरे । “सभ्य नागरिकको पहिलो पहिचान शिक्षा हो,” उनले भने, “गुणस्तरीय शिक्षा बनाउन सबैको संयुक्त प्रयास जरुरी छ ।”
यस्तै, नगर उपप्रमुख भगवती रेग्मी अर्यालले मानवीय तथा सामाजिक कार्यमा फाउन्डेसनको सक्रियता प्रशंसनीय रहेको बताइन् । फाउन्डेसनका संस्थापक तथा उद्यमी खुमा प्रसाद अर्यालले सहकार्य र सामुदायिक साथले आफूहरूलाई सामाजिक योगदानमा निरन्तर अघि बढ्न ऊर्जा मिलिरहेको बताए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका संयोजक दीपक रोकालगायतले शुभकामना व्यक्त गरेका थिए । फाउन्डेसन अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उदय शर्मा लामिछानेले स्वागत मन्तव्य, वडा अध्यक्ष तारा अर्यालले धन्यवाद र सचिव ध्रुव शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।





