स्याङ्जाको पुतलीबजार नगरपालिका –३ स्थित शिशु निकेतन अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा शुक्रबार ‘डान्सिङ एण्ड सिङ्गिङ स्टार २०८२’ प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
कार्यक्रमअन्तर्गत डान्सिङ स्टारमा शिशु निकेतनतर्फ निश्मा कुमाल विजेता र सतिस्मा थापा उपविजेता बनेका छन् भने कालिका मावि समूहमा विवश लामिछानेले पहिलो स्थान हासिल गर्दा प्रविशा क्षेत्री उपविजेता बनेकी छन् ।
यस्तै, सिङ्गिङ स्टार २०८२ मा शिशु निकेतनबाट सन्जोक गोदार विजेता र सौरभ गिरि उपविजेतामा चयन भएका छन् । कालिका मावितर्फ सफल पौडेल विजेता र आगम ढकाल उपविजेता घोषित भएका छन् । विजेताहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले पछिल्ला वर्षहरूदेखि शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै आएको प्रधानाध्यापक मनोज मल्लले बताए । उनले विद्यार्थीको प्रतिभा पहिचान र आत्मविश्वास वृद्धि गर्न यस्तो प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै हिसान स्याङ्जाका अध्यक्ष लेखनाथ रेग्मीले विद्यालयले विद्यार्थीको क्षमता विकासमा गरेको प्रयास प्रशंसनीय भएको बताए । प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई बधाइ दिँदै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् ।
प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदार, विद्यालयका संचालक गोविन्द प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा उत्कृष्ट शिक्षकलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।






