नदिजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानीमा संलग्न ६ ट्याक्टरलाई स्याङ्जा प्रहरीले एकै दिन नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
पुतलीबजार नगरपालिका वडा नं. १३ र वडा नं. १० जोड्ने झोलुङ्गे पुलदेखि करिब ९० मिटर तल आँधीखोलाबाट ढुङ्गा तथा बालुवा निकालेको ग १ त ६७६७ र ग १ त ६५४३ नम्बरका ट्याक्टरलाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, भीरकोट नगरपालिका –४ छ्याङ्छाङदी क्षेत्रमा अवैध निकासीमा संलग्न ग १ त ७६७०, लु ३ त ४८९७, ग १ त ५९७५ र लु ३ त ९३८२ नम्बरका ट्याक्टर पनि नियन्त्रणमा लिइएका छन् ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई सम्बन्धित पालिकामा कारबाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए । उनका अनुसार भीरकोटबाट अवैध बालुवा निकासीमा संलग्न ग १ त ७६७० र लु ३ त ४८९७ नम्बरका ट्याक्टरलाई नगरपालिकाले १०/१० हजार रुपैयाँ जरिवाना गराएको छ भने अन्य दुई ट्याक्टर कारबाही प्रक्रियामा रहेका छन् ।
स्थानीय पालिकासँग समन्वय गर्दै अवैध रूपमा गिट्टी, ढुङ्गा र बालुवा उत्खनन तथा ढुवानी गर्ने ट्याक्टर, टिप्पर लगायतका सवारीमाथि निरन्तर कारबाही जारी राखिएको प्रहरीले जनाएको छ ।






