स्याङ्जाको बिरुवा गाउँपालिकामा विद्यार्थीहरुले साधारण स्वास्थ्य सेवा निःशुल्क पाएका छन् । बिरुवा गाउँपालिका एक हजार ६०७ विद्यार्थीहरुले मुख तथा दाँतको निःशुल्क परीक्षण गराएका छन् । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को अध्यक्षसँग विद्यार्थी कार्यक्रमअन्तर्गत ३२ विद्यालयका सबै विद्यार्थीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।
मंसिर १९ देखि २३ गतेसम्म संचालित परीक्षण शिविरमा विएम फाउण्डेशन र कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरले प्राविधिक सहयोग प्रदान गरेको थियो । छ जना चिकित्सक र एक जना जनस्वास्थ्य अधिकृतसहित सात जनाको टोलीले सेवा दिएको प्रमुख प्रशासकीय अधिकृत परशुराम पोखरेलले जानकारी दिए ।
शिविरमा १३० जनाको दाँत निकालिएको छ भने ४० जनाको दाँत भरिएको स्वास्थ्य शाखाका प्रमुख गोगनसिं थापाले जानकारी दिए । यस्तै, ५५ जनाको दाँत सफा गरिएको र पाँच जनामा मुखसम्बन्धी गम्भीर समस्या भेटिएको उनले बताए ।
शिविरमा मुख तथा दाँतको समस्या देखा परेकालाई मंसिर २४ र २५ गते गाउँपालिकामै सेवा उपलब्ध गराइएको अध्यक्ष सूर्यबहादुर कुँवरले बताए । उपचार आवश्यक परेका ९० जनालाई भने थप उपचारका लागि रिफर गरिएको छ । अस्पताल सिफारिस हुने विद्यार्थीका लागि न्यूनतम शुल्कमा उपचारको व्यवस्था मिलाइने अध्यक्ष कुँवरले बताए ।
अरनिको मावि कक्षा–७ का १२ वर्षीय एडिसन थापाले दाँतको समस्या लिएर शिविरमा उपचार पाएको बताए । गाउँमै यस्तो सेवा पाउँदा खुसी लागेको भन्दै उनले आगामी दिनमा थप व्यापक स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउन आग्रह गरे ।







