Syangja Dainik Media
बस चेकजाँचका क्रममा लागू औषधसहित दुई युवा पक्राउ

स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँचका क्रममा दुई युवा लागू औषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–१ का २१ वर्षीय अरूण भन्ने बेद बहादुर परियार र अर्जुनचौपारी –३ का १९ वर्षीय रोशन भन्ने कुमार दमै रहेका छन् ।

उनीहरूको साथबाट नाइट्राजेपाम १६ ट्याब्लेट, स्पास्मो प्रोक्सीभोन प्लस वाकहार्ड्ट २८ क्याप्सुल र ५० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।

उनका अनुसार बिहीबार साँझ नियमित सवारीसाधन चेकजाँचका क्रममा बुटवलबाट पोखरा जाँदै गरेको ग २ ख १४४ नम्बरको बसमा सवार यात्रुहरूको झोलाजाँच गर्दा सो लागू औषध फेला पारेको हो ।

पक्राउ परेकाहरूलाई शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई लागू औषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update