लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कविता प्रतियोगितामा वालिङ नगरपालिकास्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयकी कक्षा ११ मा अध्ययनरत छात्रा स्मारिका अर्याल प्रथम भएकी छन् ।
एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न सचेतनामूलक कविता प्रतियोगितामा चापाकोट नगरपालिकास्थित बैडी माध्यमिक विद्यालयकी कक्षा १० मा अध्ययनरत आरती बस्याल द्वितीय भइन् । यस्तै, कालीगण्डकी गाउँपालिकास्थित मिर्मी आधारभूत विद्यालयकी कक्षा ५ की दिव्या भट्टराई तृतीय र कालीगण्डकीकै ध्रुवज्योति आधारभूत विद्यालयका कक्षा २ मा अध्ययनरत रिदम पाण्डे सान्त्वना भएका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद पाँच हजार, चार हजार, तीन हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिए ।
प्रतियोगितामा स्याङ्जाभरका कक्षा २ देखि कक्षा ११ सम्म अध्ययनरत ३५ जना छात्र तथा छात्राको सहभागिता रहेको थियो । “प्रविधिको सहि प्रयोग गर्दै लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा सहभागी विद्यार्थीले घरमै कविता रेकर्ड गरी अनलाइन माध्यमबाट कार्यालयमा पठाएका थिए ।






