Syangja Dainik Media
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई

स्याङ्जा पुतलीबजार नगरपालिकाको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रोशनी आवासीय माध्यमिक विद्यालयले जितेको छ । रोशनी माविले लगातार तेस्रो पटक उपाधि हात पार्दै रनिङ शिल्ड कब्जा गर्न सफल भएको हो ।

१९ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित रोशनी माविले उपाधि हात पारेको हो । रोशनी माविले उपाधिसँगै १५ हजार रुपैयाँ नगदसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो ।

प्रतियोगितामा हिमालय माध्यमिक विद्यालय ५ स्वर्ण र १ रजत पदकसहित दोस्रो, २ स्वर्ण, ५ रजत र ३ कास्य पदक प्राप्त गर्दै स्याङ्जा माध्यमिक विद्यालय तेस्रो बनेको शिक्षा प्रमुख बाबुराम बरालले जानकारी दिए ।

दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः १० हजार र ७ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पनि ट्रफीसहित पुरस्कृत गरिएको थियो ।

पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा सम्पन्न प्रतियोगितामा भलिबल, एथलेटिक्सअन्तर्गत विभिन्न दूरीका दौड, ट्रिपल जम्प, लङ जम्प, हाई जम्प, ज्याभलिन थ्रो, सटपुट, कबड्डी लगायतका १५ खेल समावेश थिए ।

२४ विद्यालयबीच भएको प्रतिस्पर्धामा एक हजार दुई सय ८० जना विद्यार्थी सहभागी रहेका थिए भने ३० स्वर्ण पदकका लागि खेल भएको थियो ।

पुरस्कार वितरण गर्दै पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले खेलकुदले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले शैक्षिक ज्ञानसँगै खेलकुदमार्फत मानसिक र शारीरिक स्वास्थ्य सुदृढ बनाउनेतर्फ जोड दिँदै यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update