Syangja Dainik Media
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा खुमा अर्याल फाउन्डेसनले पुस ५ गते गाउँपालिकाको प्राङ्गणमा शिविर सञ्चालन गर्ने भएको हो ।

गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा हुने शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोली खटिने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।

शिविरमा मुटु तथा मृगौलासम्बन्धी समस्यासहित विभिन्न रोगको जाँच र उपचार सेवा उपलब्ध गराइने र आवश्यक औषधि समेत निःशुल्क वितरण गरिने फाउन्डेसनले जनाएको छ ।

जनरल फिजिसियनमार्फत सबै प्रकारका रोगको प्रारम्भिक जाँच गरिनेछ भने इको, इसिजी र अन्य आवश्यक प्रयोगशाला परीक्षणहरू पनि निःशुल्क गरिने व्यवस्था गरिएको छ । शिविरमा महिलाका लागि पाठेघरको क्यान्सर जाँच, भिडियो एक्स–रे, मुटुको भिडियो एक्स–रे, इको, इसिजी तथा विविध ल्याब सेवा समेत नि:शुल्क उपलब्ध हुनेछ ।

जटिल स्वास्थ्य समस्या देखिएर शिविरमार्फत रिफर गरिएका बिरामीलाई गण्डकी मेडिकल कलेज पोखरामा औषधिमा पाँच प्रतिशत र उपचारमा २० प्रतिशत छुटको व्यवस्था गरिने फाउन्डेसनका अध्यक्ष शर्माले बताए ।

पुस ५ गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने शिविरमा स्वास्थ्य परीक्षणका लागि सबैलाई सहभागी हुन गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आग्रह गरेका छन् ।

खुमा अर्याल फाउन्डेसन विगत सात वर्षदेखि सामाजिक तथा राहतका क्षेत्रमा सक्रिय रहँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update