Syangja Dainik Media
स्याङ्जामा धारिलो हतियार प्रहार प्रकरणमा एक पक्राउ

धारिलो हतियार प्रयोग गरी एक व्यक्तिलाई घाइते बनाएको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका–१३ छहरीखोलास्थित सामुदायिक बनमा सालको रूख काट्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा ४८ वर्षीय पूर्णबहादुर अधिकारी घाइते भएका थिए । शनिबार राति करिब ८ बजेको समयमा भएको झगडाका क्रममा घाँटीको बाँया भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएर आरोपी फरार भएको सूचना प्रहरीले पाएको थियो ।

घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले पुतलीबजार नगरपालिका–१४ धारापानीका ४९ वर्षीय विष्णु भन्ने टोपबहादुर अधिकारीलाई सतौं मैदानबाट आइतबार बिहान ३:२५ बजे पक्राउ गरेको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।

पक्राउ परेका अधिकारीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घाइते पूर्णबहादुर अधिकारीको पोखरास्थित चरक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update