स्याङ्जा पुतलीबजार नगरपालिकाका दुई महिला समूहले देउसी–भैलोबाट संकलित रकम सदुपयोग गर्दै समाजलाई उदाहरणीय सन्देश दिएका छन् । पर्वका बेला संकलित रकम वनभोज वा अन्य अनावश्यक खर्चमा प्रयोग गर्ने प्रवृत्ति बढिरहेका बेला उनीहरूले त्यो रकम शिक्षाको सेवामा लगाएका हुन् ।
यस कार्यमा पुतलीबजार नगरपालिका–३ स्थित सूर्योदय महिला क्लब र पुतलीबजार–१ को माईस्थान–ठाडोलाईन महिला समूह सहभागी रहेका छन् । उनीहरूले शनिबार पुतलीबजार–१४ मा रहेको पाणिनि आश्रम तथा संस्कृत गुरुकुलमलाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
देउसी–भैलोबाट प्राप्त दक्षिणामध्ये सूर्योदय महिला क्लबले २० हजार पाँच सय ५५ रुपैयाँ नगद सहयोग गरेको गुरुकुलमका सचिव रविन्द्र केसीले जानकारी दिए । त्यस्तै, माईस्थान–ठाडोलाईन महिला समूहले करिब १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरेको छ ।
महिला समूहहरूको यो पहलले परम्परागत चाडपर्वलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सकारात्मक सन्देश दिएको स्थानीयको भनाइ छ ।





