स्याङ्जाको पुतलीबजार नगरपालिका–३ निरविरेमा आयोजित खुला रक्तदान कार्यक्रममा १९ युनिट रगत संकलन गरिएको छ । पुण्यशिला आधारभूत विद्यालय परिसरमा सम्पन्न कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बाड्खोला उपशाखा स्याङ्जाको आयोजनामा शनिबार भएको हो । रक्तदानसँगै विपद् व्यवस्थापनसम्बन्धी गोष्ठी तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।
कार्यक्रम लत्रेपिपल क्लब, खुमा अर्याल फाउन्डेसन स्याङ्जा र लत्रेपिपल बहुउद्देश्यीय सहकारीको सहयोगमा सम्पन्न भएको हो । यसमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जा र जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्राविधिक सहयोग पुर्याएका थिए भने निरविरे आधारभूत स्वास्थ्य चौकी र पुण्यशिला आधारभूत विद्यालयले व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले एक युनिट रगतले पनि कसैको जीवन बचाउन सक्ने भएकाले रक्तदान सबैभन्दा ठूलो मानव धर्म भएको बताए । यस्ता कार्यक्रमले समाजमा मानवताका मूल्यलाई बलियो बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा निवर्तमान नगर प्रमुख सिमा कुमारी क्षेत्री, पुतलीबजार–३ का कार्यबाहक वडा अध्यक्ष सोमबहादुर कुँवर, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाका सभापति दिनेश अर्याल, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, रेडक्रसकर्मी अनन्तराज मरासिनी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी स्याङ्जा बजार उपशाखाका सभापति बन्दना लम्साल, लत्रेपिपल क्लबका अध्यक्ष मनोज मल्ल, निवर्तमान सचिव मोतीप्रसाद मरासिनी लगायतको सक्रिय भूमिका रहेको थियो ।
सो अवसरमा जिल्ला शाखाका सभापति दिनेश अर्यालले रेडक्रसको भूमिका र गतिविधिबारे जानकारी गराएका थिए भने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एक प्रहरी अधिकृतले विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएका थिए ।





