स्याङ्जाको आँधीखोला गाउँपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड–२०८२ खेलकुद प्रतियोगिताको उपाधि त्रि–शहिद माध्यमिक विद्यालयले हात पारेको छ ।
त्रि–शहिदले नौ स्वर्ण, छ रजत र आठ कास्य पदक जित्दै समग्र प्रतियोगिताको विजेता बनेको हो । उपाधिसँगै विद्यालयले ६० हजार रुपैयाँ नगद, रनिङ शिल्ड, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसअघि भएका छ वटै संस्करणका प्रतियोगितामा जित हासिल गर्दै त्रि–शहिदले दोस्रो पटक रनिङ शिल्ड आफ्नो पोल्टामा पारेको हो ।
यहाँको वडा नं–६ स्थित शिम्ले खेलमैदानमा सम्पन्न प्रतियोगितामा पद्युम्न पनेरु माध्यमिक विद्यालयले नौ स्वर्ण, एक रजत र पाँच कास्य पदकसहित दोस्रो स्थान हासिल गर्दा श्रवण माध्यमिक विद्यालयले पाँच स्वर्ण, आठ रजत र तीन कास्य पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ । दोस्रो हुने विद्यालयले ४० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजयी खेलाडी तथा विद्यालयलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । “खेलकुदले अनुशासन, सहकार्य र नेतृत्व विकास गर्छ,” उनले भने, “पालिकाले खेलकुदमैत्री वातावरण बनाउँदै आगामी दिनमा यस्ता प्रतियोगितालाई थप व्यवस्थित र व्यापक बनाउनेछ ।”
पुस २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, ट्रिपल जम्प, एथलेटिक्सलगायत विभिन्न खेल समावेश थिए । पालिकाभित्रका १२ विद्यालयका करिब नौ सय विद्यार्थी सहभागी प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा गरिएको थियो ।
स्थानीय स्तरमै आयोजना गरिएको प्रतियोगिताले विद्यार्थी खेलाडीको प्रतिभा उजागर गर्नुका साथै विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा बढाएको पद्युम्न पनेरु माध्यमिक विद्यालयकी शिक्षिका सर्मिला बस्यालले बताइन् ।






