Syangja Dainik Media
निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खुलाइएको निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप गरिएको छ । अपेक्षित संख्यामा आवेदन नपरेपछि गृहमन्त्रालयको निर्देशनअनुसार भर्ना प्रक्रिया माघ ३ गतेसम्म लम्ब्याइएको हो ।

यसअघि पुस २४ गते सूचना प्रकाशित गरी पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त लिने व्यवस्था गरिएको थियो । तर आवेदन संख्या कम भएपछि समय थप्नुपरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा निर्वाचन सेल प्रमुख प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । उनका अनुसार बिहीबार दिउँसोसम्म नेपाल प्रहरीतर्फबाट एक हजार १८ जनाले आवेदन दिएका छन् ।  स्याङ्जामा कुल २ हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ ।

यसपालि निर्वाचन सुरक्षामा खटाइने सुरक्षाकर्मीलाई ‘म्यादी प्रहरी’को सट्टा ‘निर्वाचन प्रहरी’ नाम दिइएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ अनुसार भर्ना प्रक्रिया चलिरहेको प्रहरी निरीक्षक नेपालीले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोट र सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म हेडक्वाटर वालिङबाट फारम वितरण भइरहेको छ । फारम वितरण हुने स्थानमै बुझाउन सकिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले बताए । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

निर्वाचन प्रहरी बन्न साधारण लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाका समयमा राजनीतिक दलको सदस्य नभएको, साथै शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने सर्त तोकिएको छ । आतङ्ककारी वा विध्वंसात्मक गतिविधिमा संलग्न नरहेको हुनुपर्ने व्यवस्था पनि छ ।

भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी तथा वन रक्षकबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी साथै २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेश पत्रका आधारमा प्राथमिकता दिइनेछ । यसअघि भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्तिलाई पनि प्राथमिकतामा राखिएको छ ।

निर्वाचन प्रहरीका लागि आवेदन निःशुल्क गरिएको छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ । माघ ३ गतेसम्म आवेदन दिनेहरूको सम्पर्क मिति माघ ४ गते तोकिएको छ ।

नियुक्ति पाएपछि निर्वाचन प्रहरीले ४० दिनसम्म काम गर्नुपर्नेछ । उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलब स्केलअनुसार प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले कुल ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक पाउनेछन् । साथै खाद्यान्न खर्च, आवतजावत तयारी खर्च र खाजा खर्चसमेत प्रदान गरिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update