Syangja Dainik Media
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: आज फरक–फरक समूहका दुई खेल हुँदै

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगितामा आज शनिबार दुई खेल आयोजना हुँदैछन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा भइरहेको प्रतियोगितामा बिहान र दिउँसो गरी फरक–फरक समूहका टोली मैदानमा उत्रनेछन् ।

आज बिहान ९ बजे समूह ‘सी’ अन्तर्गत भीरकोट नगरपालिका र आँधीखोला गाउँपालिकाबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी दिउँसो १ बजे समूह ‘बी’ को कालीगण्डकी गाउँपालिका र वालिङ नगरपालिकाबीच खेल सुरु हुनेछ । कालीगण्डकीले यसअघि फेदीखोला गाउँपालिकालाई ४९ रनले पराजित गर्दै पहिलो खेल जितिसकेको छ । कालीगण्डकीले आजको खेल जितेमा सेमिफाइनल यात्रा तय गर्नेछ भने वालिङका लागि यो पहिलो खेल हुने भएकाले जिते पनि अर्को खेल खेल्नुपर्ने अवस्था रहनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा कालीगण्डकीका अण्डर–१९ राष्ट्रिय खेलाडी दर्श सुनारले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बनेका थिए । उनले ४७ बल खेल्दै पाँच छक्का र पाँच चौकाको मद्दतमा ७३ रन बनाएका थिए ।

खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजनामा भइरहेको प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहको सहभागिता रहेको फाउन्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए । टोलीहरू चार समूहमा विभाजन गरिएका छन् । समूह ‘ए’ मा बिरुवा गाउँपालिका, चापाकोट नगरपालिका र पुतलीबजार नगरपालिका, समूह ‘बी’ मा कालीगण्डकी, फेदीखोला गाउँपालिका र वालिङ नगरपालिका, समूह ‘सी’ मा आँधीखोला गाउँपालिका, गल्याङ र भीरकोट नगरपालिका तथा समूह ‘डी’ मा हरिनास र अर्जुनचौपारी गाउँपालिका रहेका छन् ।

प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा समूह ‘ए’ र ‘सी’ का विजेता तथा ‘बी’ र ‘डी’ का विजेताबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको पहिलो चरण माघ ४ गतेसम्म र दोस्रो चरण माघ ९ देखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी क्षेत्रमा योगदान गर्ने उद्देश्यसहित स्थापना भएको फाउन्डेसनले स्याङ्जालाई क्रिकेटलगायत खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए । जिल्लाका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । तृतीय टोलीलाई एक लाख र सान्त्वना टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले सुन, चाँदी तथा बहुमूल्य रत्न जडित रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको छ ।

त्यस्तै प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार रुपैयाँ र प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update