Syangja Dainik Media
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: वालिङ र आँधीखोलाको पहिलो जित

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगितामा वालिङ नगरपालिका र आँधीखोला गाउँपालिकाले जित हासिल गरेका छन् ।

खुमा अर्याल फाउण्डेसन स्याङ्जाको आयोजनामा शनिबार समूह ‘बी’ अन्तर्गतको खेलमा वालिङले कालीगण्डकी गाउँपालिकालाई २२ रनले पराजित गर्दै आफ्नो पहिलो जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको वालिङले सुरुवातमै दुई विकेट गुमाए पनि मध्यक्रमका ब्याटरले सम्हालिएर २० ओभरमा नौ विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।

प्रतियोगितामा सातौं विकेटका लागि अंकित न्यौपाने र अंकित भण्डारीबीच भएको ४२ रनको साझेदारी निर्णायक बनेको थियो । वालिङका अंकित न्यौपानेले ४२ तथा विजयराज लुइँटेलले २४ रन जोडेका थिए । उक्त खेलमा कालीगण्डकीका राजिव थापाले तीन र प्रदीप पाण्डेले दुई विकेट लिएका थिए ।

१३९ रनको लक्ष्य पछ्याएको कालीगण्डकी १९ ओभरमा ११६ रनमै अलआउट भएको थियो । सुरुवातमै दबाबमा परेको कालीगण्डकीका लागि भुवन भट्टराईले ३५, प्रवीन पाण्डेले २१ र प्रदीप पाण्डेले १९ रन बनाएका थिए । खेलमा वालिङका सुदिप अर्यालले चार, अंकित न्यौपानेले तीन, रोशन गौतमले दुई र सुदिप गौतमले एक विकेट लिएका थिए । समूह ‘बी’ अन्तर्गतको यस खेलको ‘प्लेयर अफ द म्याच’ बनेका वालिङ नगरपालिकाका अंकित न्यौपानेले पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् ।

वालिङ नगरपालिकाले यो पहिलो खेल जिते पनि आफ्नो समूहको अर्को टिम फेदीखोला गाउँपालिकासँग खेल खेल्नुपर्नेछ भने कालीगण्डकीले यसअघि फेदीखोलालाई ४९ रनले पराजित गर्दै पहिलो खेल जितिसकेको छ ।

यस्तै समूह ‘सी’ अन्तर्गतको खेलमा आँधीखोला गाउँपालिकाले भीरकोट नगरपालिकालाई पाँच रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आँधीखोलाले सात विकेटको क्षतिमा १५७ रन बनाएको थियो । गोविन्द विकले ४८, रिजन काफ्लेले ३९ र कप्तान ईश्वर क्षेत्रीले २३ रन बनाएका थिए । खेलमा भीरकोटका दिपेश क्षेत्रीले दुई तथा सिमन खाँण, अनुज चनरा, अर्जुन भण्डारी र प्रतिक श्रेष्ठले एक–एक विकेट लिएका थिए ।

१५८ रनको लक्ष्य पछ्याएको भीरकोटले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै १५२ रन मात्र बनाएको थियो । साजन गुरुङले ५४, सफल श्रेष्ठले ३३ र अनुजले २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । आँधीखोलाका कप्तान ईश्वर क्षेत्रीले चार विकेट लिए भने गोविन्द विकले दुई विकेट झारेका थिए । सागर भुजेल र रिजन काफ्लेले एक–एक विकेट हात पारेका थिए । समूह ‘सी’ अन्तर्गतको यस पहिलो खेलको ‘प्लेयर अफ द म्याच’ बनेका आँधीखोला गाउँपालिकाका ईश्वर क्षेत्रीले पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् ।

खुमा अर्याल फाउण्डेसनको आयोजनामा भइरहेको प्रतियोगितामा आइतबार पहिलो खेलमा समूह ‘सी’ का भीरकोट र गल्याङ नगरपालिका तथा दोस्रो खेलमा समूह ‘बी’ का फेदीखोला गाउँपालिका र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

मालेबगर खेलमैदानमै भइरहेको प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहको सहभागिता रहेको फाउण्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए । टोलीहरू चार समूहमा विभाजन गरिएका छन् । समूह ‘ए’ मा बिरुवा गाउँपालिका, चापाकोट र पुतलीबजार नगरपालिका, समूह ‘बी’ मा कालीगण्डकी, फेदीखोला गाउँपालिका र वालिङ नगरपालिका, समूह ‘सी’ मा आँधीखोला गाउँपालिका, गल्याङ र भीरकोट नगरपालिका तथा समूह ‘डी’ मा हरिनास र अर्जुनचौपारी गाउँपालिका रहेका छन् ।

प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा समूह ‘ए’ र ‘सी’ का विजेता तथा ‘बी’ र ‘डी’ का विजेताबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको पहिलो चरण माघ ४ गतेसम्म र दोस्रो चरण माघ ९ देखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी क्षेत्रमा योगदान गर्ने उद्देश्यसहित स्थापना भएको फाउन्डेसनले स्याङ्जालाई क्रिकेटलगायत खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए । जिल्लाका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । तृतीय टोलीलाई एक लाख र सान्त्वना टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले सुन, चाँदी तथा बहुमूल्य रत्न जडित रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको छ ।

त्यस्तै प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार रुपैयाँ र प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update