Syangja Dainik Media
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: आज पहिलो चरणका अन्तिम दुई खेल हुँदै

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगितामा आज आइतबार पहिलो चरणका अन्तिम दुई खेल हुँदैछन् ।

खुमा अर्याल फाउण्डेसन स्याङ्जाको आयोजनामा भइरहेको प्रतियोगितामा आज पहिलो खेल समूह ‘सी’ अन्तर्गत भीरकोट र गल्याङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । भीरकोटले प्रतियोगिताको पहिलो खेलमा आँधीखोला गाउँपालिकासँग पाँच रनले हार बेहोरेको छ भने गल्याङका लागि यो पहिलो प्रतिस्पर्धा हो । गल्याङ टोलीमा राष्ट्रियस्तरका खेलाडी ईशान पाण्डे, दीपक डुम्रे, सन्दीप खत्री क्षेत्री लगायत सहभागी छन् ।

त्यसैगरी दोस्रो खेल तथा समूह ‘बी’ को अन्तिम खेल फेदीखोला गाउँपालिका र वालिङ नगरपालिकाबीच हुनेछ । फेदीखोलाले पहिलो खेल कालीगण्डकी गाउँपालिकासँग ४९ रनले गुमाइसकेको छ भने वालिङले शनिबार भएको खेलमा कालीगण्डकीलाई २२ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । आजको खेल जितेमा वालिङ सेमिफाइनल यात्रा तय गर्नेछ ।

जिल्लाका ११ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा टोलिहरु चार समूहमा विभाजन गरिएको फाउण्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए । समूह ‘ए’ मा बिरुवा गाउँपालिका, चापाकोट नगरपालिका र पुतलीबजार नगरपालिका, समूह ‘बी’ मा कालीगण्डकी, फेदीखोला गाउँपालिका र वालिङ नगरपालिका, समूह ‘सी’ मा आँधीखोला गाउँपालिका, गल्याङ र भीरकोट नगरपालिका तथा समूह ‘डी’ मा हरिनास र अर्जुनचौपारी गाउँपालिका रहेका छन् ।

प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा समूह ‘ए’ र ‘सी’ का विजेता तथा ‘बी’ र ‘डी’ का विजेताबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको पहिलो चरण माघ ४ गतेसम्म र दोस्रो चरण माघ ९ देखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी क्षेत्रमा योगदान गर्ने उद्देश्यसहित स्थापना भएको फाउन्डेसनले स्याङ्जालाई क्रिकेटलगायत खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए । जिल्लाका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । तृतीय टोलीलाई एक लाख र सान्त्वना टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले सुन, चाँदी तथा बहुमूल्य रत्न जडित रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको छ ।

त्यस्तै प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार रुपैयाँ र प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update