स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगितामा वालिङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । खुमा अर्याल फाउण्डेसन स्याङ्जाको आयोजनामा आइतबार भएको खेलमा वालिङले फेदीखोला गाउँपालिकालाई नौ विकेटले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
समूह चरणका दुई खेल जित्दै वालिङले सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि भएको पहिलो खेलमा वालिङले कालीगण्डकी गाउँपालिकालाई २२ रनले हराएको थियो ।
आइतबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको फेदीखोलाले १८ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन मात्र बनाएको थियो । फेदीखोलाका लागि सार्दूल भट्टले २२, ट्राभिस जैसीले १८ र सिजन पौडेलले १४ रन जोडेका थिए । अन्य ब्याटरहरू भने दोहोरो अंकमा पुग्न सकेनन् ।
फेदीखोलालाई सस्तोमा समेट्न वालिङका अङ्कित न्यौपाने र सुजन गौतमले चार–चार विकेट लिए भने मिलन लुइटेलले दुई विकेट हात पारेका थिए ।
८२ रनको लक्ष्य पछ्याएको वालिङले १०.२ ओभरमै एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । वालिङका लागि सुजन गौतमले अविजित ५१ रन बनाए भने रोशन गौतमले ११ रन जोडेका थिए । मनिष तिवारी ६.२ ओभरमा ४ रन बनाउँदै रनआउट भएका थिए । यस खेलका ‘प्लेयर अफ द म्याच’ सुजन गौतम बने, उनले पाँच हजार रुपैयाँ नगदसहित ट्रफी पाएका थिए ।
आइतबार भएको पहिलो खेलमा गल्याङ नगरपालिकाले भीरकोट नगरपालिकालाई १२ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको गल्याङले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । राष्ट्रियस्तरका खेलाडी सन्दीप खत्री क्षेत्री र दीपक डुम्रेलाई टोलीमा समेटेको गल्याङका लागि सन्दीप ५ र दीपक ३ रनमै आउट भए पनि राजेश बस्यालले २५ र अभिषेक भट्टराईले महत्वपूर्ण योगदान दिएका थिए ।
१०५ रनको लक्ष्य पछ्याएको भीरकोट १९ ओभरमा ९२ रनमै समेटिँदै लगातार दोस्रो हार बेहोरेसँगै समूह चरणबाटै बाहिरिएको छ । भीरकोट यसअघि आँधीखोलासँग पाँच रनले पराजित भएको थियो । यस खेलका ‘प्लेयर अफ द म्याच’ सन्दीप खत्री क्षेत्री घोषित भए, उनले पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका थिए ।
माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणका खेल आइतबार सम्पन्न भएका छन् भने दोस्रो चरणका खेल माघ ९ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । जिल्लाका ११ वटै पालिकाको सहभागितामा भइरहेको प्रतियोगितामा टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुने टोलीले १ लाख र सान्त्वना टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ र प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।




