Syangja Dainik Media
बिरुवामा अवैध चार नाल भरुवा बन्दुकसहित तीन जना पक्राउ

आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै सुरक्षाका दृष्टिले खटिएको विशेष सर्च अपरेसन टोलीले सोमबार स्याङ्जाको बिरुवा गाउँपालिका–३ सिउडीबाट अवैध चार नाल भरुवा बन्दुक र सम्बन्धित सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिरुवा गाउँपालिका–३ सिउडीका ७७ वर्षीय तिल बहादुर पुलामी रहेका छन् । उनको घरबाट एक नाले भरुवा बन्दुक दुई थान, २२३ ग्राम बारुद, छर्रा ३१ थान, छर्रा बनाउन प्रयोग हुने शिशा एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको घोडा एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही स्थानका ६५ वर्षीय मिनबहादुर पुलामीको घरबाट एक नाले भरुवा बन्दुक एक थान, भित्र छर्रा १७ थान, ५० ग्राम बारुद र केप दुई थान फेला परेको छ । अर्का ६५ वर्षीय रण बहादुर थापाको घरबाट पनि एक नाले भरुवा बन्दुक एक थान, छर्रा २३ थान, ३७० ग्राम बारुद र केप पाँच थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

सर्च अप्रेसनका क्रममा तीन जनाको घरबाट लुकाइछिपाइ राखिएका भरुवा बन्दुक र त्यससँग सम्बन्धित सामग्री बरामद गरिएको सूचना अधिकारी तथा डिएसपी चौधरीले बताए । बरामद हतियार र सामग्रीसहित पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन यस्ता सर्च अप्रेसनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update