राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्जुनचौपारीमा भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम गर्ने भएको छ । पार्टी संगठन विस्तार र स्थानीय तहमा राजनीतिक सक्रियता बढाउने उद्देश्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा रास्वपाकी नेत्री तथा समानुपातिक उम्मेदवार रीमा विश्वकर्मा अर्जुनचौपारी आउने भएकी छन् ।
रास्वपा अर्जुनचौपारीको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा आसन्न निर्वाचनका लागि स्याङ्जा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. धनञ्जय रेग्मी, समानुपातिक उम्मेदवार भूमि गुरुङ (विश्व) सहित जिल्ला समिति तथा पार्टीका व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ ।
लोकतान्त्रिक सहभागिता सुदृढीकरण, संगठन निर्माण र स्थानीय कार्यकर्ताबीच आपसी समन्वय मजबुत बनाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको रास्वपा अर्जुनचौपारीका प्रमुख सल्लाहकार टुकराज अर्यालले बताए । पार्टी कार्यालय उद्घाटनसँगै हुने भेलाले अर्जुनचौपारीमा रास्वपाको राजनीतिक उपस्थितिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
कार्यक्रम २०८२ साल माघ १० गते शनिबार बिहान ११ बजे अर्जुनचौपारी–१, माटेथरस्थित अर्जुनचौपारी गेस्ट हाउसमा हुनेछ । रास्वपा अर्जुनचौपारी कमिटीले स्थानीय नागरिक, शुभेच्छुक तथा समर्थकहरूलाई कार्यक्रममा सहभागी भई लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउन आग्रह गरेको छ ।





