स्याङ्जा पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा सञ्चालन भइरहेको प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगितामा आज शुक्रबार दोस्रो चरणका दुई खेल खेलिँदैछन् ।
खुमा अर्याल फाउण्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आजको पहिलो खेल तथा समूह ‘सी’ को अन्तिम खेल गल्याङ नगरपालिका र आँधीखोला गाउँपालिकाबीच हुनेछ ।
यसअघि भएका समूह चरणका खेलमा गल्याङले भीरकोट नगरपालिकालाई १२ रनले पराजित गरिसकेको छ भने आँधीखोला गाउँपालिकाले भीरकोटलाई पाँच रनको पराजित गरेको छ । दुवै पालिकाले यसअघि एक–एक खेल जितिसकेका कारण आजको खेल जित्ने टोली सिधै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
त्यस्तै, आजकै दोस्रो तथा समूह ‘ए’ को पहिलो खेल पुतलीबजार नगरपालिका र बिरुवा गाउँपालिकाबीच हुनेछ । यो समूहको पहिलो खेलमा पुतलीबजारले बाहिरका खेलाडीमध्ये आदिल आलमलाई मैदान उतार्ने जनाएको छ । प्रतियोगितामा प्रत्येक टोलीले दुई जना बाह्य खेलाडी खेलाउन पाउने व्यवस्था छ । यसअघि माघ ४ गतेसम्म भएका पहिलो चरणको खेलमा समूह ‘बी’ बाट वालिङ नगरपालिका सेमिफाइनलमा पुगिसकेको छ ।
समूह चरणका दुई खेल जित्दै वालिङले सेमिफाइनल यात्रा तय गरेको हो । वालिङले कालीगण्डकी गाउँपालिकालाई २२ रन र फेदीखोला गाउँपालिकालाई नौ विकेटले पराजित गरेको थियो । आजदेखि सुरु दोस्रो चरणका खेलसहित सेमिफाइनल र फाइनल खेल माघ १४ गतेसम्म आयोजना हुनेछ ।
फाउण्डेसनका सचिव ध्रुव शर्माका अनुसार जिल्लाका ११ वटै स्थानीय तह सहभागी रहेको प्रतियोगितामा टोलीहरू चार समूहमा विभाजन गरिएका छन् । समूह ‘ए’ मा बिरुवा गाउँपालिका, चापाकोट र पुतलीबजार नगरपालिका छन् । समूह ‘बी’ मा कालीगण्डकी, फेदीखोला र वालिङ नगरपालिका, समूह ‘सी’ मा आँधीखोला गाउँपालिका, गल्याङ र भीरकोट नगरपालिका तथा समूह ‘डी’ मा हरिनास र अर्जुनचौपारी गाउँपालिका रहेका छन् ।
प्रत्येक समूहबाट शीर्ष स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा समूह ‘ए’ का विजेताले ‘सी’ समूहका विजेतासँग तथा समूह ‘बी’ का विजेताले ‘डी’ समूहका विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारीका क्षेत्रमा योगदान गर्ने उद्देश्यसहित संस्था स्थापना गरिएको जानकारी दिए । स्याङ्जालाई क्रिकेटलगायत खेलकुदको केन्द्रका रूपमा विकास गर्ने र जिल्लाका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले दुई लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई एक लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई एक लाख र सान्त्वना टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले बहुमूल्य रत्न जडित रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार रुपैयाँ पुरस्कार दिइनेछ भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विधागत खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।





