Syangja Dainik Media
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ सेमिफाइनलमा, पुतलीबजारको पहिलो जित

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगितामा गल्याङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । खुमा अर्याल फाउण्डेसन स्याङ्जाको आयोजनामा शुक्रबार भएको खेलमा गल्याङले आँधीखोला गाउँपालिकालाई आठ विकेटले पराजित गर्दै समूह ‘सी’ को विजेता बन्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

समूह चरणका दुवै खेल जित्दै गल्याङले सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि भएको पहिलो खेलमा गल्याङले भीरकोट नगरपालिकालाई १२ रनले हराएको थियो ।

शुक्रबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आँधीखोला गाउँपालिकाले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै १२० रन बनाएको थियो । सो लक्ष्य गल्याङले १३ ओभरमै दुई विकेट गुमाउँदै १२३ रन जोडेर सहजै पूरा गरेको थियो । गल्याङको जितमा दीपक प्रसाद डुम्रेले ४६ रनको महत्वपूर्ण योगदान दिएका थिए भने सन्दीप खत्रीले ३१ रन र ईशान पाण्डेले अविजित २५ रन बनाएका थिए ।

बलिङतर्फ आँधीखोलालाई कम रनमै रोक्न दीपक डुम्रेले दुई विकेट, सन्दीप खत्री, ईशान पाण्डे र विपिन खत्रीले एक–एक विकेट लिन सफल भएका थिए । सो खेलमा उत्कृष्ट प्रदर्शनका कारण दीपक डुम्रे ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् ।

शुक्रबार नै भएको अर्को खेलमा पुतलीबजार नगरपालिकाले बिरुवा गाउँपालिकामाथि १९१ रनको फराकिलो जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको पुतलीबजारले सात विकेटको क्षतिमा २६९ रनको ठूलो योगफल तयार गरेको थियो । पुतलीबजारका लागि अश्वनी रानाले शतकीय १०९ रन बनाउँदा अमृत क्षेत्रीले ६५ र सुधान्सुले ४६ रन जोडेका थिए ।

२७० रनको लक्ष्य पछ्याएको बिरुवा १७ ओभरमै ७८ रनमा अलआउट भयो । बिरुवालाई सस्तैमा समेट्न दर्शन शाहीले तीन विकेट लिए भने सौजन्य रेग्मी र प्रकाश क्षेत्रीले दुई–दुई विकेट हात पारेका थिए । बिरुवाका तर्फबाट किसन खड्काले २१ र स्वप्निलले २३ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पुतलीबजारबाट खेलेका चर्चित राष्ट्रिय खेलाडी आदिल आलमले सात रन मात्र बनाए भने बलिङमा विकेट लिन सकेनन् । समूह ‘ए’ अन्तर्गतको यस पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुतलीबजार नगरपालिकाका अश्वनी राना ‘प्लेयर अफ द म्याच’ बन्दै पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् ।

माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ११ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख रुपियाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको छ । साथै, ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update