Syangja Dainik Media
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड : आज दुई खेल हुँदै

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत आज शनिबार दुई खेल हुने भएका छन् । स्याङ्जा पुतलीबजार नगरपालिका–१ को मालेबगर खेलमैदानमा जारी प्रतियोगितामा बिहान र दिउँसो फरक–फरक समूहका टोलीहरू आमनेसामने हुँदैछन् ।

पहिलो खेल समूह ‘ए’ अन्तर्गत चापाकोट र पुतलीबजार नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो खेल समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा हरिनास र अर्जुनचौपारी गाउँपालिकाले मैदान उत्रनेछन् ।

पुतलीबजार नगरपालिकाले यसअघि बिरुवा गाउँपालिकामाथि १९१ रनको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ । आजको खेलमा पनि पुतलीबजार विजयी भए सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । अर्जुनचौपारीका लागि भने यो पहिलो खेल भएकाले जित हात पारे पनि समूह चरणको अर्को खेल खेल्नुपर्ने अवस्था रहनेछ ।

पहिलो खेलमा पुतलीबजारका खेलाडी अश्वनी रानाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ५९ बलमा पाँच छक्का र १२ चौकाको मद्दतमा शतकीय १०९ रन बनाउँदै ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।

खुमा अर्याल फाउण्डेसन, स्याङ्जाको आयोजनामा भइरहेको प्रतियोगितामा जिल्लाका सबै ११ स्थानीय तह सहभागी रहेको फाउण्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए । सहभागी टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल चरणमा समूह ‘ए’ र ‘सी’ का विजेता तथा समूह ‘बी’ र ‘डी’ का विजेताबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ बाट वालिङ नगरपालिका र समूह ‘सी’ बाट गल्याङ नगरपालिकाले समूह चरणका दुवै खेल जित्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापना गरिएको फाउण्डेसनले स्याङ्जालाई क्रिकेटलगायत खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए । जिल्लाका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले दुई लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार, तृतीय हुने टोलीलाई एक लाख र सान्त्वना टोलीलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । लगातार तीन वर्षसम्म उपाधि जित्ने पालिकाले बहुमूल्य रत्न जडित रनिङ शिल्ड स्थायी रूपमा हात पार्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार रुपैयाँ नगद प्रदान गरिनेछ भने प्रतियोगिताभरका विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update