स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगितामा शनिबार अर्जुनचौपारी गाउँपालिका र चापाकोट नगरपालिकाले आफ्नो पहिलो खेल जित्दै राम्रो सुरुआत गरेका छन् ।
खुमा अर्याल फाउण्डेसन स्याङ्जाको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा अर्जुनचौपारीले हरिनास गाउँपालिकालाई ६९ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अर्जुनचौपारीले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १६७ रन जोडेको थियो । टोलीका लागि विपिन विक्रम शाहीले अविजित ७० रनको उत्कृष्ट इनिङ्स खेले भने दिनेश अधिकारीले ३६ रनको योगदान दिए । हरिनासतर्फबाट दिवस कुवँरले दुई विकेट लिए भने अदित पौडेल, फत्ते सिंह थापा र मिलन क्षेत्रीले समान एक–एक विकेट झारेका थिए ।
१६८ रनको लक्ष्य पछ्याएको हरिनास १८.२ ओभरमै ९८ रनमा समेटिएको थियो । बलिङतर्फ अर्जुनचौपारीका विपिन विक्रम शाहीले चार तथा दिनेश अधिकारीले तीन विकेट लिँदै विपक्षी टोलीलाई सस्तैमा रोक्न सफल भएका थिए । यही खेलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन विक्रम शाही ‘प्लेयर अफ द म्याच’ बन्दै पाँच हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् ।
शनिबारै भएको समूह ‘ए’ को खेलमा चापाकोटले पुतलीबजार नगरपालिकालाई चार विकेटले हराएको छ । पुतलीबजारले पहिले ब्याटिङ गर्दै १७.२ ओभरमा सबै विकेट गुमाएर ७३ रन मात्र बनाएको थियो । ७४ रनको सामान्य लक्ष्य चापाकोटले १२.४ ओभरमा छ विकेट गुमाउँदै पूरा गरेको थियो । यस खेलका ‘प्लेयर अफ द म्याच’ करण पंगेनी घोषित हुँदै पाँच हजार रुपैयाँसहित ट्रफी पाएका छन् ।
स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जालाई क्रिकेटलगायत खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको जनाएको छ । यसमार्फत जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै तेस्रो हुने टोलीले एक लाख र सान्त्वना पुरस्कार विजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तह सहभागी छन् ।
लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले विशेष रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको छ। साथै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ र प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिने फाउण्डेसनले जनाएको छ ।





