प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । खुमा अर्याल फाउण्डेसन स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका–१ मालेबगर खेलमैदानमा भइरहेको प्रतियोगितामा आज पहिलो खेलमा समूह ‘डी’ अन्तर्गत अर्जुनचौपारी र हरिनास गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल समूह ‘ए’ का चापाकोट नगरपालिका र बिरुवा गाउँपालिकाबीच हुनेछ ।
शनिबार भएका खेलमा अर्जुनचौपारीले हरिनासलाई तथा चापाकोटले पुतलीबजारलाई पराजित गरेको थियो । आजका खेलपछि सम्बन्धित समूहका विजेता तय हुनेछन् । समूह विजेता टुङ्गो लागेसँगै सबै समूहबाट सेमिफाइनलमा पुग्ने टिमको छिनोफानो पनि हुनेछ । यसअघि समूह ‘बी’ बाट वालिङ नगरपालिका र समूह ‘सी’ बाट गल्याङ नगरपालिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारीका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जालाई क्रिकेटसहित विभिन्न खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए । उनका अनुसार जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य पनि प्रतियोगिताको मुख्य उद्देश्य हो ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । तृतीय हुने टिमले एक लाख र सान्त्वना स्थान हासिल गर्नेले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने फाउण्डेसनले जनाएको छ । लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले सुन, चाँदी तथा बहुमूल्य रत्न जडित रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।





