नेपाली साहित्यका नाट्यसम्राट बालकृष्ण समको १२४ औँ जन्मजयन्ती तथा कविशिरोमणि लेखनाथ पौड्यालको ६० औँ स्मृति दिवसको पूर्वसन्ध्यामा गल्याङमा काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह सम्पन्न भएको छ ।
जगत्रदेवी साहित्य सङ्गम गल्याङद्वारा आयोजित ‘गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह–२०८२’ माघ २४ गते गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको हो ।
सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईले गल्याङमा काव्य उत्सव आयोजना गर्न सहयोगी तथा उदार मन भएका पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । स्थानीय तहबाट हुनुपर्ने लगानी देश–विदेशमा रहेका श्रमिक र शुभेच्छुकहरूको सहयोगबाट सम्भव भएको उनको भनाइ थियो ।
कार्यक्रममा पल्लव साहित्य प्रतिष्ठान भरतपुर, चितवनका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) लाई ‘जगत्रदेवी साहित्य सम्मान–२०८२’ द्वारा सम्मान गरिएको थियो भने सोही समारोहमा अभियन्ता डा. विश्व विके खड्कालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
सङ्गमका उपाध्यक्ष लिलाबल्लौ अर्यालले बालकृष्ण सम र लेखनाथ पौड्यालको साहित्यिक योगदानबारे प्रकाश पारेका थिए । कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष झविलाल पाण्डेले साहित्यिक संस्थालाई सशक्त बनाउन नगर कार्यपालिकामा आवाज उठाउने र वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनाल, पल्लव साहित्य प्रतिष्ठानका सदस्य लोकनाथ खराल तथा गल्याङ नगरपालिका वडा नं. ७ का अध्यक्ष झविलाल पाण्डे, दुर्गा राना, दिलीप मगर, गीता थापा, प्रेमबन्धु सुवेदी, नारायणप्रसाद न्यौपाने, गुरुप्रसाद ढकाल, लोकहरि पाण्डे ‘क्षितिज’ लगायतका साहित्यकारहरूले राष्ट्रिय परिवेशमा आधारित कविता वाचन गरेका थिए ।





