युवाकवि मिलन समीरको नयाँ निर्बन्ध–काव्य सिर्जना “म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु” माथि केन्द्रित विमर्श कार्यक्रम वालिङमा सम्पन्न भएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष पुगेको अवसर पारेर आयोजित उक्त कार्यक्रम वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ ले आयोजना गरेको हो ।
अभियानको ४०औँ शृङ्खलाका रूपमा गरिएको यो कार्यक्रम जिल्लामै कुनै एकल रचनामाथि केन्द्रित विमर्शका हिसाबले विशेष मानिएको छ ।
वालिङ नगरपालिका–६ मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सोमबार अपरान्ह अनौपचारिक रूपमा कार्यक्रम गरिएको थियो । कार्यक्रमको सहजीकरण स्वयं कृतिकार मिलन समीरले गरेका थिए ।
विमर्शमा सहभागी वक्ताहरू शम्भु अर्याल, युवराज सुवेदी, वसन्त खनाल र पारिश्वर न्यौपानेले प्रस्तुत काव्यमाथि गहिरो पाठकीय टिप्पणी राखेका थिए । उनीहरूले निर्बन्ध शैलीमा आएको नयाँ प्रयोगलाई सकारात्मक रूपमा लिँदै समकालीन साहित्यमा यसको महत्वबारे चर्चा गरेका थिए ।
कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूले नयाँ ढाँचामा काव्य सिर्जना सुरु भएकोप्रति खुशी व्यक्त गर्दै स्रष्टालाई शुभकामना दिएका थिए ।
करादीखोला, स्याङ्जामा जन्मिएका मिलन समीर हाल वालिङमै बसोबास गर्दै साहित्य सिर्जनामा सक्रिय छन् । उनका ‘गाउँमा साइरन बजेपछि’, ‘प्रिय दुश्मन’, ‘मिलन समीर र मिलन समीरहरू’ र ‘मिलनमन्त्र’ लगायतका कृतिहरू प्रकाशित छन् । विभिन्न साहित्यिक कृतिको सम्पादनसमेत गरिसकेका समीरले स्थानीयदेखि राष्ट्रिय तहसम्मका पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।





